१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोडिने



२४ वैशाख, दाङ ।
विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको धारपानीको पाण्डवेश्वरी मन्दिर र त्यसभन्दा करीब २ किलोमिटर अग्लो डाँडामा रहेको सुनकोटमा रहेको षड्केश्वरी मन्दिरलाई सिँढीले जोडिने भएको छ ।

त्यसका लागि षड्केश्वरी मन्दिरको पुनःनिर्माण र त्यहाँ सहजरुपमा पुग्नका लागि सिँढी निर्माण कार्यको थालनी भएको छ । पृथक पौराणिक महत्वका दुवै मन्दिर सिँढीले जोडिएपछि त्यहाँको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने धारपानी पाण्डवेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

घोराही उपमहानगरपालिका–५ धर्नाको सुनकोटमा षड्केश्वरी भगवतीको मन्दिर पुनःनिर्माण हुन थालेको छ । पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको उक्त मन्दिरलाई पुनःनिर्माण गर्न थालेको हो । पाण्डवेश्वर मन्दिर पुग्ने दर्शनार्थीलाई अर्को धार्मिक गन्तव्यका रुपमा त्यहाँ पनि पुग्न सहज हुने गरी मन्दिर पुनःनिर्माण हुन थालेको हो ।

करीब १५ लाखको लागतमा मन्दिर निर्माण गर्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए । पाण्डवेश्वर मन्दिरदेखि करीब दुई किलोमिटर दक्षिण अग्लो पहाडमा मन्दिर निर्माण हुन थालेको हो । पौराणिक महत्व बोकेका उक्त स्थानमा १९८३ सालतिर षड्कदेवीको मन्दिर निर्माण भएको जनविश्वास रहेको छ ।

तत्कालीन समय सरिकोटमा दाङ जिल्लाको प्रशासनिक काम हुँदाको अवस्थामा सरिकोट र सुनकोटमा मानव बस्ती रहेका र ती मानिसले पूजापाठ गर्नका लागि मन्दिर स्थापना भएको स्थानीयवासी बताउँछन् । “सरिकोटमा प्रशासनिक अड्डा रहँदा सरिकोट र सुनकोट क्षेत्रमा मानिसको बसोबास थियो” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले भने ।

उक्त स्थान पुग्नका लागि पाण्डवेश्वर मन्दिरदेखि चार हजार ९६३ वटा सिँढी बनाइने भएको छ । जसका लागि विभिन्न व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । षड्केश्वरी र पाण्डवेश्वर मन्दिरको धार्मिक एव ऐतिहासिक सम्बन्ध रहेकाले दुवै मन्दिरलाई जोड्ने गरी पैदलमार्गका रुपमा सिँढी निर्माण गरिन थालिएको हो ।

यसरी सिँढी निर्माण गर्दा धारपानी क्षेत्रसंगै सुनकोट क्षेत्रलाई पनि धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए । धर्नाको धारपानी मन्दिरमा विश्वकै अग्लो त्रिशूल राखिएपछि धारपानी पाण्डवेश्वरीको तिर्थाटन गर्ने धर्मावलम्बीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

नेपालका विभिन्न भूभागलगायत विदेशबाट समेत धर्मावलम्बी यहाँ आउने गरेका छन् । मन्दिरमा धर्मशाला, शौचालय, खानेपानीको व्यवस्थालगायत सहज यातायात सेवासँगै बबइ खोलामा पनि पक्की पुल बन्न लागेको छ भने मन्दिरसम्म पुग्नका लागि पक्की सडकसमेत निर्माण भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर आसपासको क्षेत्रमा पर्यटकीय एवं धार्मिक महत्व बढाउन तथा वातावरणीयरुपमा पनि सकारात्मक सन्देश फैलाउनका लागि एक हजार आठ जोडी वरपीपल रोप्ने र हुर्काउने अभियानसमेत शुरु भइसकेको छ ।
रासस

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ००:००