७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशः जनप्रतिनिधिको सेवा सुविधाको मस्यौदा स्वीकृत



२१ वैशाख, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले यहाँका जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐनको मस्यौदा स्वीकृत गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले दुई छुट्टाछुट्टै मस्यौदा स्वीकृत गरी संसद्मा पेस गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति दिएको छ । स्वीकृत मस्यौदामा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ को मस्यौदामा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ५३ हजार ९०० तोकिएको छ ।

जबकि संघीय सरकारले मुख्यमन्त्रीको पारिश्रमिकको ‘सिलिङ’ ६० हजार ९०० तोकेर पठाएको थियो । यद्यपि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वेच्छाले सात हजार कम तोकिएको प्रदेश सरकारका प्रवक्ता तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले हालको कर्णाली प्रदेशलाई मध्यनजर गरी कम पारिश्रमिक तोक्न निर्देशन दिएसँगै सोहीअनुसार पारिश्रमिक निर्धारण गरिएको प्रवक्ता केसीले बताए । मन्त्रीको पारिश्रमिक ऐनको मस्यौदामा केन्द्रीय सरकारको परिपत्रबमोजिम तोकिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको मस्यौदामा प्रदेश मन्त्रीको पारिश्रमिक ५२ हजार तोकिएको छ । आवास सुविधा नहुने मन्त्रीका लागि आवासबापत मासिक २५ हजार व्यवस्था हुने कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्रीलाई मासिक १२५ लिटर र मन्त्रीलाई मासिक ७५ लिटर इन्धन उपलब्ध गराइने मस्यौदामा व्यवस्था छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, २०७५ को मस्यौदा पनि स्वीकृत गरी प्रदेशसभामा पेसगर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति दिएको छ ।

मस्यौदामा जिल्ला समन्वय समितिका प्रमुखका लागि ४० हजार तोकिएको छ भने उपप्रमुखको मासिक सेवासुविधा ३५ हजार तोकिएको छ । मन्त्रिपरिषद्ले सहमति प्रदान गरिसकेपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुवै विधेयक संसद्मा पेश गर्ने जनाइएको छ । दुवै विधेयक संसद्बाट पारित भएपछि ऐनको रूपमा कार्यान्वयनमा आउने छन् ।

मस्यौदामा नगरपालिकाका प्रमुखको मासिक ३५ हजार र उपप्रमुखको मासिक ३० हजार ‘पारिश्रमिक सुविधा’ तोकिएको जनाइएको छ । नगरपालिकाका वडाध्यक्षको मासिक सुविधा २० हजार तोकिएको छ । यता गाउँपालिकाका अध्यक्षको ३१ हजार र उपाध्यक्षको २६ हजार, पारिश्रमिक तोकिएको छ । गाउँपालिकाका वडाध्यक्षको भने मासिक १५ हजार देखि १८ हजार प्रस्ताव गरिएको छ ।

संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनेबारे उल्लेख नभएपनि सुविधाबापत भनेर प्रस्तावित रकमको मस्यौदा तयार गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ००:००