६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले गर्यो प्रदेशसभा बैठक अवरोध



२० वैशाख, महेन्द्रनगर– धनुषा ।
प्रतिपक्षी दल तोक्नुपर्ने माग गर्दै प्रदेशसभा २ को बैठकमा कांग्रेसले अवरोध गरेपछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले प्रतिपक्ष तोक्न सभामुखसँग माग गरेका थिए । बैठक शुरु हुनसाथ सचेतक कुशवाहाले प्रतिपक्ष नेता नतोकिएसम्म बैठक चल्न नदिने बताउँदै अवरोध गरेका थिए ।

यसअघि वैशाख १५ गते पनि कांग्रेसको अवरोधका कारण बैठक स्थगन गरिएको थियो । प्रदेश नं २ मा प्रमुख प्रतिपक्षका लागि नेकपा एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएको छ ।

सदनमा एमाले र कांग्रेस दुवै दलले प्रमुख प्रतिपक्षी दलको हैसियत आफूले पाउनुपर्ने माग राख्दै आएका छन् । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, “सदनमा कांग्रेसबाहेक सबै दल सत्तापक्ष भइसकेका छन् । सदनमा एक मात्र दल कांग्रेस विपक्षी भूमिकामा छ, त्यसैले हामीले उक्त भूमिका पाउनुपर्छ ।”

यता एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले उक्त भूमिका एमाले नै पाउनुपर्ने जिकिर गर्दै भने, “सरकारलाई मत हाल्दैमा प्रतिपक्षी दलको भूमिका समाप्त हुँदैन ।”

प्रदेश २ को प्रदेशसभामा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल र दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी सरकारमा छन् । तेस्रो ठूलो दल एमाले, चौथो कांग्रेस र पाँचौँ नेकपा माओवादी केन्द्र हुन् ।
रासस

प्रकाशित मिति : २० बैशाख २०७५, बिहिबार ००:००