१७ वैशाख, चितवन ।
चालू आर्थिक वर्षको ९ महिनामा जिल्लामा पूँजीगत खर्च ३७.७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयानुसार खर्च भने निकै कम हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी भृगुराज खनालका अनुसार चालू आवको ९ महिनामा २ अर्ब ९ करोड ३८ लाख २४ हजार खर्च भएको छ । गत आवको यसै अवधिमा १ अर्ब ५८ करोड १४ लाख ४३ हजार खर्च भएको थियो ।
यसवर्ष सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडक आयोजनामा मात्रै ८५ करोड ५४ लाख ४२ हजार खर्च भएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भरतपुरको ४३ करोड ७८ लाख ६१ हजार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको २२ करोड ६० लाख ४८ हजार र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको १५ करोड १० लाख ९ हजार खर्च भएको छ । अन्य कार्यालयको खर्च न्यून रहेको उनले बताए ।
यसैगरी चालू आवको ९ महिनामा चालू खर्चतर्फ ६८.८५ प्रतिशत खर्च भएको छ । यस अवधिमा छ अर्ब ७५ करोड ९८ लाख ६४ हजार चालू खर्च भएको हो । गत आवको यसै अवधिमा ५१.६४ प्रतिशत चालू खर्च भएको थियो । यो अवधिमा चार अर्ब ९८ करोड ७५ लाख १२ हजार खर्च भएको थियो ।
स्थानीय तह गठनपछि केन्द्रीय योजनाबाहेकको खर्च स्थानीय तहबाट नै हुने भएकाले कोलेनिकामा यो बजेट आउँदैन । यस वर्ष पूँजीगत खर्चतर्फ कोलेनिकामार्फत हालसम्म ५ अर्ब ५६ करोड ६६ लाख ५३ हजार निकासा भइसकेको छ । गत वर्ष ५ अर्ब ७७ करोड ८४ लाख १२ हजार निकासा भएको थियो । पूँजीगत खर्च रकमान्तर भई अन्यत्रबाट पनि असारसम्म आउने हुँदा रकम बढ्न सक्ने कार्यालयले जनाएको छ ।
रासस
प्रतिक्रिया