१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल हिड्नुपर्ने बाध्यता



१३ वैशाख, संखुवासभा ।
भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न ५ दिन हिँडेर सदरमुकाम खाँदबारी झरे । गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आएका हुन् ।

नजिकमा बैंक नहुँदा भोटखोलावासी ५ दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबकारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र आर्थिक कारोबारका लागि सदरमुकाम खाँदबारीमै पुग्नु पर्दा कर्मचारीले असुरक्षित महसुस गर्ने गरेको उनले बताए ।

बैंक पठाइदिनु प¥यो भनेर पटकपटक माग गरेका छौँ, अध्यक्ष तेम्बाले भने, सुनुवाइ भएको छैन, कारोबार गर्न नजिक बैंक नभएकाले काम कारबाहीमा बाधा उत्पन्न भएको छ । नगद रकम बोक्दा असुरक्षित हुने खतरा छ, उनले भने भोटखोलाका ५ गाउँमा सामान्य काम चलाउन पनि उधारो र ऐचोपैंचो गर्नुपर्ने अवस्था छ ।

किमाथांकाबाट हिँडेको पाँच दिनमा मात्रै सदरमुकाम खाँदबारी आउन सकिन्छ, उनले भने, १० स्थानीय तहमध्ये खाँदबारी, पाँचखपन नगरपालिका, चैनपुर र मकालु गाउँपालिका बाहेकका स्थानीय तहमा बैंक छैनन् । बैंक नहुँदा संखुवासभाका दुर्गममा रहेका गाउँपालिकाको समस्या झन विकराल देखिएको छ ।

सदरमुकामसंगै जोडिएको चिचिला गाउँपालिकामा पनि बैंक नहुँदा सदरमुकाम आउनुको विकल्प छैन । गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पा बैंक नजिक नभएकाले सदरमुकामसम्म आएर कारोबार गर्न सुरक्षाका साथै चुनौती पनि रहेको बताउछन् । चिचिलाबाट पनि खाँदबारीसम्म आएर कारोबार गर्न तीन घण्टा लाग्छ ।

तीबाहेक सिलिचोङ, सभापोखरी गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकाबाट ससानो आर्थिक कारोबार गर्न बैंक खोज्दै सदरमुकाम र व्यापारिक केन्द्र चैनपुरसम्म आउनुपर्ने अवस्था छ । कारोबार गर्नु अघि कोष तथा लेखा नियन्त्रणबाट स्वीकृति लिन पनि सदरमुकाममै आउनुपर्ने बाध्यता रहेको गुनासो गर्दै स्थानीय पासाङनुर्बूले भने, सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नगदै घरघरमा पु¥याउनु पर्ने भएकाले सबैभन्दा सुरक्षा चुनौती त्यसबेला व्यहोर्नु पर्ने अवस्था छ भने कर्मचारीलाई काम गर्दा सुरक्षित महसुस गराउन नसके गाउँपालिकाबाट हुने नियमित विकास कार्यमा समेत कठिनाइ हुने गरेको उनले बताए ।

अरुणपारिको सबैभन्दा टाढा रहेको सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकालाई आर्थिक कारोबार गर्न मुख्य चुनौती देखिएको छ, अध्यक्ष तेम्बाले भने, यी क्षेत्रमा नियमित यातायातको साधन चल्दैनन्, हिँडेरै जानुपर्छ, सडक खनिएका छैनन् ।

सदरमुकामबाट दुर्गम भएकाले यहाँ बैंकलाई आवश्यक पर्ने सुरक्षित र पक्की घरसमेत अभाव भएको उनले बताए । सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै इन्टरनेटको सुविधा भएकाले गाउँमा बैक गइहाले पनि कारोबारमा समस्या हुने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सबै स्थानीय तहमा बैंक पठाउने निर्णयअनुसार सबै तहमा विभिन्न बैंकलाई शाखा विस्तार गर्न सहुलियत दिएर राष्ट्र बैंकले परिपत्र गरिसकिएको छ तर सञ्चार, भौगोलिक, सुरक्षा लगायतका चुनौती रहेको दाबी गर्दै अझैसम्म ती बैंकले गाउँ तहमा शाखा विस्तार गरेका छैनन् ।

बैंकलाई गाउँ जान सुरक्षाको अवस्थाले कुनै समस्या हुँदैन, उनले भने, तोकिएका स्थानीय तहमा बैंक गएर सेवा दिनै पर्छ । गाउँ तहसम्म पुग्न नसकेका अधिकांश बैंकले इन्टरनेट, सुरक्षा, यातायातको पहुँच नभएको जनाएका छन् ।

राष्ट्र बैंकले ग्लोबल आइएमईलाई भोटखोला गाउँपालिका, प्राइमलाई सभापोखरी गाउँपालिका, एभरेष्टलाई सिलिचुङ गाउँपालिका, मादी नगरपालिकामा हिमालय, धर्मदेवी नगरपालिकामा एसबीआई बैंकलाई शाखा विस्तार गर्न अनुमति दिएको छ ।
रासस

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार ००:००