६ वैशाख, बुटवल ।
प्रदेश नं ५ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेश गर्न स्वीकृत गरेको छ ।
बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको उद्योग तथा पर्यटन मन्त्री लीला गिरीले जानकारी दिइन् ।
उक्त विधेयक यही वैशाख १२ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ । त्यस्तै बैठकले मुख्यमन्त्रीको ६० हजार ९७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिक विधेयकमा प्रस्ताव गरेको बैठकपछि मन्त्री गिरीले जानकारी दिइन् ।
त्यस्तै प्रदेशसभाका सदस्यसहित सभामुख, उपसभामुखको पनि पारिश्रमिक सिफारिश गरिएको छ । सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार पारिश्रमिक हुने विधेयकमा प्रस्ताव गरिएको छ । त्यस्तै प्रदेश सचेतकका लागि ४८ हजार र प्रदेशसभा सदस्यको ४५ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ ।
बैठकले प्रदेशसभा सचिवालय गठनसम्बन्धी विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको उनले जानकारी गराइन् । सचिवालयमा सभामुख, उपसभामुख, सभाको सचिव सदस्य र प्रदेशसभाको सचिवले तोकेको सभाको वरिष्ठतम् अधिकारीलाई सदस्यसचिव तोक्नसक्ने व्यवस्था विधेयकमा गरिएको छ ।
रासस
प्रतिक्रिया