३० चैत, हेटौडा ।
प्रदेश नं ३ सरकारले प्रदेशसभा सदस्यको मर्यादाक्रमको टुङ्गो लगाएको छ । बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रतिनिधसभा, राष्ट्रियसभापछि मर्यादाक्रममा प्रदेशसभा रहने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
प्रदेशसभा सदस्यको मर्यादाक्रमका विषयमा प्रदेशसभा सदस्यले संसद्मा प्रस्तावित विधेयकमा सहमति नजुटाएको अवस्थामा मन्त्रिपरिषद्को बैठकले यसको टुंगो लगाएको हो ।
त्यस्तै बैठकले प्रदेशसभा सचिवको योग्यता, काम कर्तव्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को मस्यौदा विधेयक स्वीकृत गरेको छ । बैठकले सवारी साधन खरिद सम्बन्धमा मापदण्ड निर्धारण, २०७४ र सञ्चित कोष कार्यविधि स्वीकृत गरेको छ ।
यसैगरी आकस्मिक कोष, २०७४ मस्यौदा गर्न अवधारणा पत्र स्वीकृत गरेको सरकारका प्रवक्ता ढुंगेलले जानकारी दिए । बैठकले विनियोजित ऐन, २०७४ सम्बन्धी विधेयकको मस्यौदा गर्न सोसम्बन्धी अवधारणा पत्र र प्रादेशिक दुग्ध विकास बोर्ड ऐन, २०७४ स्वीकृत गरेको छ ।
रासस
प्रतिक्रिया