१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगानीको सुरक्षा प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राई



२१ चैत, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएकाले लगानी भित्र्याउन आह्वान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘प्रादेशिक आर्थिक बहस’ कार्यक्रममा उनले मुलुकको व्यापार घाटा न्यून गर्न र रोजगारी सिर्जना गर्न लगानीमैत्री कानून, विद्युत, श्रम समस्या सहजता एवं सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राईले उद्योगको विकास र समृद्धिकालागि प्रदेश सरकारले जग्गा उपलब्धता सम्बन्धमा कार्य गरिरहेको बताउँदै यस सम्बन्धमा निजी क्षेत्रसँग हातेमालो गरी स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकार तयार रहेको जानकारी दिए ।

उनले प्रदेश सरकार तीव्रगतिमा विकास र समृद्धिका लागि कार्य गर्न निजी क्षेत्रसंगको सहकार्यमा नीतिनियम र कानून बनाउन तयार रहेको बताउँदै उद्योगलाई आवश्यक पर्ने कर छुटको व्यवस्था गर्न तयार रहेको बताए ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थल अन्तर्राष्ट्रियरुपमा प्रयोगका सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिँदै प्रदेशको तीन भारतीय छिमेकी प्रदेशका जनतालाई धार्मिक तथा हिमाली पर्यटकका रुपमा यस क्षेत्रमा ल्याउने कार्य भएमा मुलुकको व्यापार घाटामा केही सहजता हुने बताए ।

महासंघका अध्यक्ष भवानी राणा, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता टंक आङ्गवुहाङ, नेपाली कांग्रेसका प्रदेश सचेतक केदार कार्की, प्रदेशसभा सदस्यद्वय मोहनकुमार खड्का र विमल कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, महासंघका उपाध्यक्ष शेखर गोल्छा, महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, उपाध्यक्ष राजेन्द्र राउत लगायतले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योग स्थापना गर्न जग्गा उपलव्धता हुनुपर्ने, विद्युतमा सहजता र श्रम उद्योगमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उद्योगी अविनाश बोहरा, पिके झा र श्याम दाहालले मुलुकको आर्थिक विकास सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
रासस

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ००:००