६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नालीको अभावमा सडक योजनाको दिगोपनामा चुनौती



२० चैत, बाबियाचौर– म्याग्दी ।
म्याग्दीका ग्रामीण सडकको स्तरोन्नतिका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो ।

सडकसंग जोडिएका जग्गाधनीको विरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राविधिक ज्ञानको अभावका कारण सडक स्तरोन्नति सम्बन्धी योजनामा नाली निर्माणले प्राथमिकता पाउन सकेको छैन ।

नाली नहुँदा हिउँदभरि खनिएका तथा स्तरोन्नति भएका सडक एक, दुई दिन वर्षा हुनेबित्तिकै सवारी साधन आवतजावतमा समस्या हुने गरेको बेनी नगरपालिका १० पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले बताए ।

बेनी नगरपालिका कार्यालयले ९ नं वडाको सिमाना अलवाङ पात्लेखेतको ओखले हुँदै रघुगंगा गाउँपालिकाको सिमाना घट्टेखोला सम्म जोड्ने दुई किलोमिटर सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा २१ लाख ५० हजार विनियोजन भएकामा ३१ प्रतिशत घटेर भगवती मालिका कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।

निर्माण कम्पनीले डोजर लगाएर साढे तीन मिटर चाक्लो सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाए पनि नाली बनाउने र हिलो जम्ने ठाउँमा ढुङ्गाको सोलिङ गर्नेजस्ता काम नगर्दा लगानी खेर जाने खतरा हुने कार्यवाहक वडाध्यक्ष पुनले चिन्ता व्यक्त गरे ।

यसैगरी बेनी नगरपालिका ९ को गिठेनीदेखि पात्लेखेत हुँदै झिँको सिमाना सम्म साढे तीन किलोमिटर सडक चक्लाउने, ग्रेड र मोड सुधार गरिए पनि नाली बनेको छैन । उपभोक्ता समितिका अध्यक्ष मसवीर रोकाले नगरपालिकाको ४ लाख, स्थानीयवासी, वन, युवा क्लब, आमा समूहको सहयोग तथा ऋण गरी १३ लाखको लगानीमा सडक फराकिलो बनाए पनि बजेट अभावमा नाली बनाउन नसकिएको बताए ।

नगरपालिकाले १० लाख विनियोजन गरेको गलेश्वर काउलेगौडा पात्लेखेत सडक स्तरोन्नति योजनामार्फत भने धेरैजसो ठाउँमा नाली बनेको छ । १० लाख विनियोजित अर्थुङ्गे थाकनपोखरी भिरमुखी सडक स्तरोन्नति योजनाका लागि उपभोक्ता समितिका अध्यक्ष गोविन्द बानियाँले प्रभावित क्षेत्रका बासिन्दको घर अगाडिबाट सडक बनोस् र जग्गा नपरोस् भन्ने विरोधाभाषपूर्ण भावनाले समस्या भएको बताए ।

बेनी नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले पहाडी क्षेत्रको सडकमा नाली अनिवार्य भएको बताए । इञ्जिनियर कार्कीले सडकलाई मापदण्ड अनुसार फराकिलोसँगै टेवा पर्खाल, कजवे, सोलिङ, ढलान गरेर स्तरोन्नति गरेमा सहज रुपमा नियमित सवारी सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए ।

स्वास्थ्य चौकी निर्माणमा ढिलाइ

अठार महिनामा सकिनुपर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको स्वास्थ्य चौकीको निर्माण कार्य चार वर्षमा समेत पूरा भएको छैन । भवन निर्माणमा ढिलाइ हुँदा सेवा समेत प्रभावित भएको छ ।

वडा कार्यालयको दुई वटा कोठाबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेले साँघुरो सीमित कोठामा बसेर काम गर्दा बिरामीको स्वास्थ्य परीक्षण, समस्या पहिचान, औषधि भण्डारी, प्रसूति गृह सञ्चालनमा समस्या भएको बताए ।

जिल्ला शहरी विकास तथा भवन डिभिजन कार्यालयले विसं २०७१ मा करीब दुई करोडको लागतमा राम्चे स्वास्थ्य चौकीको भवन निर्माण शुरु गरेको थियो । अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको भवनको प्लाष्टर, घेराबार, रङ्गरोगन, विद्युत् र पानी जडान गर्नेलगायतको काम अझै बाँकी छ ।

निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीसँगै सम्बन्धित निकायको बेवास्ताका कारण भवन निर्माणमा लापरबाही भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य यामबहादुर पुर्जाले बताए । उक्त भवन निर्माणका लागि भगवती निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

भवन डिभिजनका इञ्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा ढिलाइ भएको र भवन निर्माणको कामलाई तीव्रता दिन ताकेता गरिरहेको बताए । भौगोलिक विकटताका कारण निर्माण सामग्रीको ढुवानी गर्न समस्या, दक्ष कामदारको अभाव, उच्च पहाडी भूगोलका कारण हिउँदमा चिसो र बर्खामा पानीले काम गर्न समस्या भएको निर्माण व्यवसायी गोपाल भट्टचनको गुनासो थियो ।

चालू आर्थिक वर्षभित्र नै भवन निर्माण गर्ने व्यवसायी भट्टचनले दाबी गरे । सो स्वास्थ्य चौकीबाट राम्चे, काफलडाँडा र नाँगीका ५०० भन्दा बढी घरधुरीले सेवा लिदै आएका छन् ।
रासस

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार ००:००