४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ः आर्थिक विधेयक पारित

लेखक स्थानीय खबर १९ चैत्र २०७४, सोमबार २ मिनेट पढाइ

१९ चैत, विराटनगर ।
प्रदेश नं १ को सोमबार बसेको प्रदेशसभाको बैठकले संशोधनका लागि टेबुल गरिएको प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले टेबुल गरेको सो विधेयक सर्वसम्मत पारित गरिएको हो । यसअघि सो विधेयकको १ देखि ६४ सम्मको धारा, नाम र प्रस्तावना विधेयकको अंग बनोस् भनी राखिएको प्रस्तावपनि सर्वसम्मत ढंगले पारित भएको छ ।

प्रदेशसभाको आजको शून्य समयमा ११ जनाले आआफ्ना जिल्लाका नदी कटान, सुकुम्बासी, भूकम्पपीडित र बाढीपीडितका समस्या, सडकको दुरवस्था आदि विषयमा ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले बाली काट्नुअगावै सरकारद्वारा समर्थन मूल्य तोक्नुपर्ने र ऋण लिएका किसानलाई बाली काट्ने अवधिसम्मको व्याजमा सरकारलाई अनुदान दिनुपर्ने माग गरे ।

पूर्णप्रसाद राईले गत पुस ३० गते संखुवासभामा सडक दुर्घटनामा निधन भएका मकालु गाउँपालिका अध्यक्षका परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । विमल कार्कीले उदयपुरका चुनढुंगा खानीलाई उपयोगमा ल्याउन माग गरे ।

प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले धनकुटाबाट पूर्वी जिल्ला जाने सडकको मर्मतका साथै पहाडी जिल्लाका लागि धनकुटामा यातायातका कार्यालय स्थापनाको माग गरे । झलकबहादुर मगरले झापाको सतासीधाम, धर्मपुर, शिवगञ्ज, धर्मपुरलगायत कटानबाट प्रभावित गाउँमा ठोस रुपमा नदी नियन्त्रण र धनीपुर्जा, खानेपानी लगायत समस्या समाधानको माग गरे ।

कृष्णकुमारी राईले सुकुम्बासी र विन्द्या कार्कीले बाढीपीडित परिवारका समस्या ध्यानाकर्षण गराए । मोहनकुमार खड्काले ओखलढुंगाको सुख्खाबाट प्रभावित क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषित गर्नुपर्ने र भूकम्पबाट क्षति भवनको पुनःनिर्माणको कार्यमा तीव्रता ल्याउन तथा यशोदा अधिकारीले मोरङको मावा खोलामा अवैध गिट्टी र बालुवाको उत्तखननका विषयमा ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक यही चैत २८ गते अपराह्न १ बजे बस्नेछ ।
रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।