२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ नं प्रदेश सरकारको १०० दिने कार्ययोजना सार्वजनिक



१३ चैत, जनकपुरधाम ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन् ।

कार्ययोजना अन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना गर्ने, धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्न लगानीकर्तालाई सहज तरिकाले जग्गा उपलब्ध गराउने उल्लेख छ ।

आर्थिक क्षेत्रमा बन्द, हडताल, चक्काजाम, अवरोधमुक्त क्षेत्र बनाउने, अन्न उत्पादन, तरकारीखेती, माछापालन, फलफूलखेतीलाई प्रोत्साहित गर्दै हरित प्रदेशका रूपमा विकास गर्ने, किसानलाई अन्न भण्डारणका लागि पायक पर्ने स्थानमा चिस्यान घरको निर्माण, साना सिँचाइ तथा ट्युबवेल सिँचाई आयोजनामार्फत सिँचाइतर्फ जोड दिने पनि कार्ययोजनामा उल्लेख छ ।

कार्ययोजनामा माछा उत्पादनमा विशिष्टीकरण गर्दै अर्गानिक माछा जोनका रूपमा विकास गर्ने, कृषि प्रणालीमा आधुनिकीकरण गर्ने, भूमि उपयोगिताका लागि चक्लाबन्दी, चुरे संरक्षण तथा बजार व्यवस्थापन गर्ने, किसानलाई प्राङ्गारिक मल प्रयोगका लागि प्रोत्साहन गर्ने, डेरी, गोलभेँडा क्यापचेप, तरकारी प्रशोधन, जुस प्रशोधन जस्ता उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।

कार्ययोजनामा सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने कानूनको निर्माण, खरिद प्रणाली तथा भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्रीको मातहतमा एक छुट्टै अनुगमन निकाय स्थापना गरिने उल्लेख छ ।

छोरी बचाउ– छोरी पढाउ अभियान सञ्चालन, दाइजो उन्मूलन, बालविवाह, बोक्सी तथा छुवाछूत निर्मूल गर्ने कानून निर्माण, डोम, चमार, दुसाध र मुसहर शिक्षा योजना कार्यान्वयन, महिला सुरक्षा डेस्क स्थापना, धार्मिक, पर्यटकीयस्थलको व्यवस्थापन र प्रवर्द्धन, मुख्यमन्त्री सडक योजना कार्यान्वयन गरिने लगायतका कुरा कार्ययोजनामा छन् ।
रासस

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार ००:००