१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भौतिक पूर्वाधार अभावका कारण प्रदेश सरकारका दैनिक काम प्रभावित



२८ फागुन, बुटवल ।
भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकार अन्तरगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत आइनसकेको र कर्मचारी समायोजनमा पनि ढिलाइले प्रदेश सरकारको काम प्रभावित भएको छ ।

प्रदेशसभाबाट विश्वासको मत लिएको भोलिपल्ट आज मुख्यमन्त्री शंकर पोखरेलले पत्रकार सम्मेलन गरी बुटवलमा प्रदेश सरकारका लागि आवश्यक भौतिक पूर्वाधार अभाव रहेको स्पष्ट पारे ।

उनले जिल्ला सदरमुकाम र क्षेत्रीय सदरमुकाम रहेका स्थानमा अस्थायी केन्द्र तोकिएका ठाउँमा भौतिक पूर्वाधारको समस्या नरहेको तर बुटवलमा दुवै नभएकाले यहाँ सरकारी भवनको पूर्वाधारको अभाव देखिएको बताए ।

उनले बुटवलको बसपार्कमा राखिएको सामाजिक विकास मन्त्रालय, हाटबजार नजिकै रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र यातायात व्यवस्था कार्यालय परिसरमा रहेको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका लागि अझै पनि उपयुक्त नभएकाले विकल्पको खोजी गरी सार्न ठाउँ खोजी भइरहेको छ ।

उनले प्रदेश सरकारले सकेसम्म बुटवल क्षेत्रभित्रै सरकारी भवनको खोजीमा रहेको बताउँदै विकल्पमा मणिग्राममा रहेको राममणि क्याम्पसको भवन लगायतलाई राखिएको बताए ।

मुख्यमन्त्री पोखरेलले श्रम कार्यालयको छ तले भवन मुख्यमन्त्री कार्यालयकै लागि अपर्याप्त भएकाले त्यहाँ रहेका तीन मन्त्रालयका लागि पनि ठाउँ खोज्नुपर्ने बाध्यता रहेको बताउँदै भने, “प्रदेश सरकार सकेसम्म बुटवलमै पूर्वाधारको खोजी गर्न कार्यदल बनाएर काम गरिरहेको छ ।”

प्रदेशको स्थायी राजधानीका विषयमा मुख्यमन्त्री पोखरेलले स्थायी राजधानीबारे चर्चा हुनु स्वभाविक भए पनि यसको अन्तिम निर्णय प्रदेशसभाले गर्ने भएकाले उचित समयमा सबैको सहमतिका आधारमा विधि र प्रक्रियाबाटै हल गरिने बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विकास र समृद्धिको मुख्य आधार कृषिका साथै दीर्घकालीन आधार पर्यटन भएको बताए । उनले यिनै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट बनाउने बताए । मुख्यमन्त्री पोखरेलले विकासमा सत्ता पक्ष र प्रतिपक्षमा विभाजित नहुन सबैसंग आग्रहसमेत गरे ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास योजना र कार्यक्रम बनाई प्रदेश नं ५ लाई मुलुककै नमूना र समृद्ध प्रदेश बनाउने उनले बताए ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ००:००