१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास बजेट शिक्षकको तलबमा खर्च



२८ फागुन, बैतडी ।
बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताइन् ।

अर्थ मन्त्रालयले कम रकम निकासा दिएपछि विकास बजेटबाट तलब खुवाउनु परेको उनको भनाइ छ । अर्थ मन्त्रालयले १० करोड मात्रै निकासा दिएकाले नगरपालिकाले ४ करोड ३५ लाख ३ हजार १६० विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए । दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ वटा सामुदायिक विद्यालय रहेका छन् ।

नगरपालिकाको विकाससहित दुई चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोसीले बताए । विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ ।

बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता

बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधिले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसका साथै नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि प्रतिबद्धता गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताए । प्रतिबद्धता पत्रमा नगरपालिकाले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा बालबालिकाका योजनालाई अनिवार्य रुपमा समावेश गर्ने, विपद् व्यवस्थापनका कुरालाई ध्यान दिएर योजना निर्माण गर्ने लगायतका छन् ।

पाटन नगरपालिका अन्तर्गत गाभिएको साबिकको सिद्धेश्वर गाविस बालमैत्री घोषणा भइसकेको र वडा नं १ लाई पनि निकट भविष्यमै बालमैत्री घोषणाको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ००:००