१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वासको मत लिदै मुख्यमन्त्री गुरुङ



२५ फागुन, पोखरा ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ २८ गते प्रदेश नं ४ का नेकपा एमाले संसदीय दलका नेतामा निर्वाचित गुरुङलाई २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सचिव खड्काका अनुसार आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राख्नेछन् । प्रस्ताव राखेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटा दलका एक एक जनाले आ–आफ्ना धारणा राख्नेछन् ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मत विभाजनको प्रक्रियामा लगिने सचिव खड्काले जानकारी दिए । जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४ मा विश्वासको मत लिन गुरुङले बहुमत प्राप्त गर्नुपर्छ ।

बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा एमालेको २७ र नेकपा माओवादी केन्द्रका १२ सदस्य रहेका कारण वाम गठबन्धनका साझा मुख्यमन्त्री गुरुङले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

यस प्रदेशमा एमाले, नेकपा माओवादी केन्द्र बाहेक नेपाली कांग्रेसको १५, राष्ट्रिय जनमोर्चाको तीन, नयाँ शक्तिको दुई र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मनाङका स्वतन्त्रतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले भने शपथ लिएका छैनन् । प्रदेशसभा सचिवालयमा आर्थिक कार्यविधि विधेयक– २०७४ दर्ता भएका कारण आज ११ः३० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले पारित गरेमा उक्त विधेयक आजै प्रदेशसभामा टेबुल हुने सचिव खड्काले जानकारी दिए ।

त्यस्तै, अघिल्लो बैठकमा टेबुल भएको प्रदेशसभा नियमावली–२०७४ आजको बैठकबाट पारित हुन सक्नेछ । गत फागुन २१ गते बसेको प्रदेशसभा बैठकमा नियमावली टेबुल गरिएकोमा संशोधनका लागि सभामुखले ४८ घण्टाको समय दिएकोमा कुनै पनि संशोधन नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ००:००