१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ नं. प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाई



२१ फागुन, बुटवल । प्रदेश नं ५ को सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ । मन्त्रिपरिषद् विस्तारपछि कार्यालय तथा निजी आवास व्यवस्थापनको काम पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सरकारका प्रवक्ता वैजनाथ थारुले बताए ।

मन्त्रिपरिषद् बैठकपछि थारुले थारुले मन्त्रालय र निजी निवासको व्यवस्थापन भइरहेकाले अझै १० दिन समय लाग्न सक्ने जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले यही फागुन २७ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिइने छ । नेपालको संविधानअनुसार प्रदेश सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभासँग मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

बैठकले प्रदेशमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश नं ५ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ समेत स्वीकृत गरेको छ ।

यस्तै प्रदेशअन्तर्गतका मुख्य नाकामा ५ नं प्रदेशका मुख्य पहिचान झल्कने महत्वपूर्ण क्षेत्रका विज्ञापनपाटी राख्न मन्त्रिपरिषद् सचिवालयलाई निर्देशन दिइएको छ । यस्तै प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथको ढाँचासमेत मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले सरकारको कानूनी सल्लाहकारमा दाङका ठाकुरप्रसाद डिसीलाई नियुक्तिका लागि सिफारिस गरेका छन् । रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार ००:००