२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस



२० फागुन, पोखरा । प्रदेश नं ४ को न्यायधिवक्तामा राजेन्द्र घिमिरे लाई सिफारिस गरिएको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको बताए । साथै मुख्यमन्त्री, मन्त्री तथा सचिवको अध्यक्षतमा बस्ने बैठकमा बोलाइने विज्ञका सेवा सुविधालगायत निर्णयहरू भएको उनले बताए ।

तस्बिरः रासस

हाललाई सूचना प्रविधि विज्ञ, कानून विज्ञ, सार्वजनिक खर्च व्यवस्थापन विज्ञ, सार्वजनिक सुशासन विज्ञ र बजेट तथा योजना तर्जुमा विज्ञ पठाइदिन केन्द्र सरकारसँग अनुरोध गरिएको छ । मन्त्रिपरिषद्ले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका पदाधिकारीलाई दिने सुविधासम्बन्धी कानून विधेयक, २०७४, प्रदेशसभाका सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ र मन्त्रिपरिषद्का सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ लाई सैद्धान्तिक स्वीकृत गरेको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका आर्थिक कार्यविधि विधेयक, २०७४ र सार्वजनिक खरिद विधेयक, २०७४ दुईवटा कानून बनाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

मन्त्रिपरिषद् बैठकले मध्य पहाडी लोकमार्गको केही खण्डमा भएको विवाद बुझी त्यसको समाधानका लागि रामशरण बस्नेतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । गोरखाको भीमसेन र थार्चे गाउँपालिकाको केन्द्रमा भएको विवाद समाधानका लागि कानून मन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००