१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै क्षेत्रलाई समेटेर प्रादेशिक ऐन बनाउछौः मुख्यमन्त्री गुरुङ



१६ फागुन, पोखरा ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको आधारमा सबै क्षेत्रलाई समेट्ने गरी प्रादेशिक ऐन कानून निर्माण गरिने बताएका छन् ।

राष्ट्रिय अपाङग महासंघ नेपाल कास्की तथा आइएनएफद्वारा संयुक्त रुपमा आयोजित अपाङ्गताको सवालमा स्थानीय र प्रदेशिक सरकार तथा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले समुचित र समावेशी प्रतिनिधित्व आजको आवश्यकता रहेको उल्लेख गरे ।

कानून निर्माणमा आवश्यकताअनुसार सबै पक्षको राय सुझाव संकलन गरिने बताउदै उनले ऐन कानून निर्माण भन्दा कार्यान्वय पक्षलाई सशक्त बनाइनुपर्ने आजको आवश्यकता रहेकोमा उनको जोड थियो ।

प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले संविधानले व्यवस्था गरेका अधिकारलाई उपयोग गर्दै थप अधिकारका लागि रचनात्मक सुझावका आधारमा प्रादेशिक ऐन कानून निर्माण गरिने बताइन् ।

प्रदेशसभा सदस्य गायत्री गुरुङले अधिकार र अवसरबाट वञ्चित ग्रामीण क्षेत्रमा रहेका अपाङ्गता भएका र अशक्तलाई पहिचान गरी उनीहरूको हक अधिकारको सुनिश्चितता गरी प्रदेश नं ४ लाई संघीयता कार्यान्वयनको नमूना प्रदेश बताउने धारणा राखिन् ।

नेपालमा सन् २०११ को तथ्यांकअनुसार दुई लाख ८० हजार ८६ पुरुष र दुई लाख ३३ हजार २३५ महिलासहित कूल पाँच लाख १३ हजार ३२१ जना अपाङ्ग रहेको आइएनएफका प्रबन्धक विष्णु गिरीले जानकारी दिए ।

कार्यक्रममा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालद्वारा प्रदेश नं ४ भित्रका ११ मध्ये १० जिल्लाका ७२ जना दृष्टिविहीनका लागि १४ लाख मूल्यबराबरका ७२ थान डिभाइस मोबाइल वितरण गरिएको संस्थाका अध्यक्ष डा वीरेन्द्रराज पोख्रेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ००:००