१४ फागुन, हेटौँडा ।
प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरेको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गरेका थिए ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नियमावली पारित भइसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेका छन् । उक्त बैठक प्रारम्भ भएपछि प्रदेशसभाका सदस्य शोभा शाक्य, राधा घले, रिना गुरुङ, युवराज दुलाल, रामेश्वर फुयाँल र रीता माझीले आ–आफ्नो धारणा राखेका थिए ।
उनीहरुले मुलुकको संविधानको मर्मलाई आत्मसात् गरी प्रदेशसभाको काम, कर्तव्य, अधिकार र संघीय सरकारलाई जनताको हितमा काम गर्न र सरकारले गरेका अनियमित कार्यलाई ऐन कानूनद्वारा नियन्त्रणमा ल्याउन एवं जनतालाई सामाजिक न्याय दिलाउन प्रदेश सरकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए ।
नियमावलीमा प्रदेशसभाको सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्यको काम, कर्तव्य र अधिकार सार्वजनिक जनहितको विषयमा, आर्थिक विनियोजित विधेयक प्रदेशसभाका सदस्यको विशेषाधिकार, आचरण व्यवहार लगायत विधेयक २१७ वटा नियम (दफा) र ६ वटा अनुसूची समावेश गरिएको छ ।
यसैगरी नियमावलीमा प्रदेशसभाको १३ जिल्लामा बसोबास गर्ने १०० जना नागरिकले राष्ट्र एवं सार्वजनिक हितको महत्वपूर्ण विषयमा प्रदेशसभामा ध्यानाकर्षण गर्ने उद्देश्यले ल्याइएको प्रस्तावलाई प्रदेशसभाका ३ जना सदस्यले हस्ताक्षर गरेपछि प्रस्ताव पेश गरी छलफलमा ल्याउन सकिने नयाँ व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिए ।
रासस




प्रतिक्रिया