१२ फागुन, सुर्खेत । प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाकरण गरेको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । प्रस्तावमा नेपाली कांग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गरेका थिए ।
४० प्रदेशसभा सदस्यमध्ये ३७ जनाले सो प्रस्तावको पक्षमा मत जाहेर गरे थिए । मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए । बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गर्नु भएको थियो ।
बैठकमा प्रस्तुत प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य सीता नेपाली, कृष्णा शाह, हिमबहादुर शाह, कौशिला खत्री, दानसिंह परियार र पदमबहादुर रोकायाले भाग लिएका थिए ।
राजधानी सुर्खेत
यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राख्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेकपा (एमाले)का सांसद गुलाबजंग शाह र नेकपा (माओवादी केन्द्र)का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए ।
प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकल्प नरहेको बताए । कांग्रेसका सांसद यज्ञबहादुर विसीले कर्णाली प्रदेशमा सरकार पक्ष र प्रतिपक्षको अनुभूति नभएको बताए ।
“प्रदेशको नाम र राजधानी सर्वसम्मत तोक्न सफल भएका छौँ र हामीलाई कोही सत्ता र कोही प्रतिपक्षको सांसदको अनुभूति गर्न पाएनौँ” उनले भने, “ “समृद्ध प्रदेश निर्माण गर्न आगामी दिनमा सत्ता पक्ष र प्रतिपक्षको महशुस हुने । प्रदेशको विकासमा एकमतका साथ अघि बढ्नेछौँ ।”
छलफलमा भाग लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौसमी राजधानीको व्यवस्था गरिनुपर्ने बताए । कर्णाली प्रदेशलाई ग्रीष्मकालीन र शीतकालीन राजधानीको रुपमा विकास गरिनुपर्ने भन्दै कर्णालीको केन्द्र जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने उनको धारणा छ । रासस




प्रतिक्रिया