१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा कम बजेट विनियोजन हुँदा शिक्षकको तलब खुवाउन समस्या



१२ माघ, बाबियाचौर, । म्याग्दीका गाउँपालिका र नगरपालिकाहरूमा आवश्यकता अनुसार बजेट विनियोजन नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या भएको छ ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बजेटको अभावका कारण सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताले समयमै तलब पाउन सकेका छैनन् ।

अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ताको लागि पर्याप्त बजेट नपठाएको, पठाएको पनि कोष तथा लेखानियन्त्रकको कार्यालयले अख्तियारी नदिएको र अपुग बजेट कसरी जुटाउने भन्ने विषयमा समन्वय नहुँदा समस्या भएको हो । अन्नपूर्ण गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले अर्थ मन्त्रालयले पठाएको बजेट नपुगे पनि अन्य स्रोतबाट व्यवस्थापन गरेर फागुनसम्मको शिक्षक कर्मचारीको तलब निकासा गर्ने निर्णय गरेको छ ।

दोस्रो चौमासिकको पूरा तलब निकाशा गर्ने र अपुग बजेटका लागि अर्थ मन्त्रालयमा माग गर्ने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक समेत रहका वडा नं २ का अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । अन्नपूर्णमा कार्यरत ३ सय २ जना शिक्षकले पहिलो चौमासिकको समेत पूरा तलब पाउन सकेका छैनन् ।

यसैगरी बेनी नगरपालिकाले दोस्रो चौमासिकको मंसिर र पुस महिनाको मात्र तलब निकासा गरेको छ । शिक्षकको तलबका लागि वार्षिक रु १६ करोड बजेट आवश्यक पर्नेमा अर्थ मन्त्रालयले रु १२ करोड पठाएको थियो भने ८ करोड रुपैयाँमात्र मात्र निकासा भएको छ ।

निकासा भएको ८ करोड रुपैयाँमध्ये ४ करोड ८५ लाख रुपैयाँ पहिलो चौमासिकमा वितरण गरिएको र दोस्रो चौमासिकमा दुई महिनाको २ करोड ६४ लाख वितरण गरेको र थप बजेटको पहल गरेको बेनी नगरपालिकाका प्रशासकीय अधिकृत तेजराज शर्माले बताए । बेनीमा ५ सय ५४ जना शिक्षक कार्यरत छन् ।

रघुगंगा गाउँपालिकाले अझै दोस्रो चौमासिकको तलब निकासा गर्न सकेको छैन् । जति, पुग्छ त्यति तलब एक, दुई दिनमा विद्यालयको खातामा निकासा गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईंले बताए । रघुगंगामा २ सय ७८ शिक्षक कार्यरत छन् ।

धौलागिरि, मालीका र मंगला गाउँपालिकाले पनि पहिलो र दोस्रो चौमासिकको तलब खाए पनि तेस्रो चौमासिकका लागि आवश्यक पर्ने बजेट अपुग भएको छ । शिक्षक संगठनका प्रतिनिधिले समयमै तलब खुवाउन नसकेको भन्दै स्थानीय तहमा दबाब दिन थालेका छन् । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार ००:००