९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने



१० फागुन, महेन्द्रनगर– धनुषा ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राउतले ३० दिनभित्र प्रदेश सभा बाट विश्वासको मत प्राप्त गर्नुपर्छ ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन् । आज विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन् ।

उनले बुधबार राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसंगै गई कांग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत माग्दै अनुरोध पत्र दिएका थिए ।

आज मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनेछन् । बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदानका लागि आहृवान गर्नेछन् । मतदानमा आफ्नो पक्षमा ५१ मत वा बढी आएमा लालबाबु राउत मुख्यमन्त्री कायम रहनेछन् ।

पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिने प्रदेश संसद् सचिवालयका उपसचिव यादवले बताए ।

यस प्रदेशको प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ सांसद रहेका छन् जसमा मुख्यमन्त्री रहेको दल संघीय समाजवादी फोरमका २९ र राष्ट्रिय जनता पार्टीका २५ सदस्य छन् । दुवै दलको कूल सिट संख्या ५४ रहेको छ ।

मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ५४ मत यी दुई पार्टीसँगै छ । त्यस्तै, नेकपा एमालेको २१, कांग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, संघीय समाजवादी पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन् ।
रासस

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार ००:००