९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ४ का मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण



४ फागुन, पोखरा ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले उनीहरूलाई शपथ ग्रहण गराए ।

शपथ ग्रहण समारोहमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ, प्रदेशसभाका सदस्य, प्रतिनिधि एवं राष्ट्रियसभाका सदस्य, राजनीतिक दलका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालसहित उच्च सुरक्षा अधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

दुई सदस्यीय मन्त्रिपरिषद्

मुख्यमन्त्री गुरुङले आजै दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् गठनको पत्र प्राप्त भएको जानकारी गराउँदै त्यसको व्यहोरा बाचन गरेका थिए ।

गठित मन्त्रिपरिषद्मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा रामशरण बस्नेतलाई तथा अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री गुरुङ स्वयंले लिएका छन् । मन्त्री बस्नेतले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरे । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बसिरहेको छ ।

पद बहाली

प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री गुरुङ, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बस्नेत र सभामुख अधिकारीले आजै पद बहाली गरेका छन् । सभामुख अधिकारीले पार्दीस्थित शहीद पार्कमा पुगेर शहीदको शालिकमा माल्यार्पण गरी नदीपुरस्थित सभामुखको कार्यालयमा पुगी पद बहाली गरे ।

मुख्यमन्त्री गुरुङ तथा बस्नेत आजै पुष्पलाल स्मृति पार्कमा पुगी पुष्पलालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००