१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट



३ फागुन, धनगढी ।
प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नं ७ ले मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै उनले पहिलो पटक देश संघीयतामा गएकाले यसको जग बसाल्ने काम पहिलो प्राथमिकतामा पर्ने बताए । भट्टको शपथ भने यही फागुन ५ गते गर्ने तयारी गरिएको छ ।

“प्रशासनिक व्यवस्थाका साथै प्राकृतिक स्रोतको समुचित ढंगबाट परिचालन र उपयोग गर्न सकेमा विकास गर्न सकिन्छ,” भट्टले भने, “यस क्षेत्रको कृषि, पर्यटन, जलस्रोत, जडिबुटीको सही तरिकाले उपयोग गर्न सकिएमा सफलता मिल्नेछ ।”

प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने र सभामुख नेकपा एमालेले पाउने दुई दलको सहमतिबमोजिम प्रदेश सभामुखमा बझाङबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित एमालेका अर्जुनबहादुर थापा निर्वाचित भइसकेका छन् ।

चौकीदारदेखि मुख्यमन्त्रीसम्म

नवनियुक्त मुख्यमन्त्री भट्ट डोटीको साविक भूमिराजमाडौं गाविसको फलेडी गाउँमा जन्मिएका हुन् । प्रदेशसभा निर्वाचनमा डोटी जिल्ला प्रदेशसभा ख बाट प्रत्यक्ष निर्वाचित उनी १४ वर्षका उमेरमा कक्षा ८ मा पढ्दापढ्दै घर परिवारमा आर्थिक समस्या देखिएपछि कामको खेजीमा भारत पसेका थिए ।

भारतमा रहँदा चौकीदारका रुपमा काम गरेका भट्ट त्यहाँ अखिल भारतीय नेपाली एकता समाजसँग आबद्ध भएका थिए । उनी माओवादीको डोटी जिल्ला सचिव, सहइञ्चार्ज र इञ्चार्ज हुँदै अहिले प्रदेशको मुख्यमन्त्री सम्ममा आसीन हुन सफल भएका छन् ।
रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार ००:००