८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ७ मा मुख्यमन्त्रीका लागि सांसद भट्टको दाबी



२ फागुन, धनगढी ।
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।

माओवादी केन्द्र र नेकपा एमालेका ३७ जना प्रदेश सांसदले मुख्यमन्त्रीमा भट्टलाई समर्थन रहेको भन्दै हस्ताक्षर सहितको समर्थन पत्र प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पेश गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव हीरालाल चौधरीले जानकारी दिए । अडचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको सांसदको टोलीमा यसअघि माओवादी केन्द्रभित्रका मुख्यमन्त्री बन्ने चर्चामा रहेका प्रदेश सांसद वीरभान चौधरी र झपट बोहरा पनि सम्मिलित थिए ।

यो सँगै प्रदेश नं ७ को मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको छ । प्रदेश प्रमुख कार्यालयले यही फागुन ५ गते मुख्यमन्त्री नियुक्त गरी शपथग्रहण समेत गराउने तयारी गरेको छ ।

यसअघि आजै प्रदेश प्रमुख मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि यही फागुन ४ गते दिउँसो ११ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रदेश नं ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने र सभामुख एमालेले पाउने सहमति बमोजिम सभामुखमा एमाले बझाङबाट निर्वाचित सांसद अर्जुनबहादुर थापा निर्वाचित भइसकेका छन् ।

प्रदेशसभाको उपसभामुखमा भने माओवादी केन्द्रकी सांसद देवकी मल्ल र कुन्ती जोशीको नाम चर्चामा छ । यही फागुन ६ गते बस्ने प्रदेशसभाको बैठकले उपसभामुख चयन गर्ने कार्यतालिका छ । प्रदेश नं ७ मा एमाले २५, माओवादी केन्द्र १४, नेपाली कांग्रेस १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।
रासस

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार ००:००