८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ काे शक्तिशाली आन्तरिक मामिला मन्त्रालयको काम शुरु



१ फागुन, पथरी– मोरङ ।
प्रदेश नं १ का छ मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा देखिएको आन्तरिक तथा कानून मन्त्रालयले सोमबारदेखि विधिवत्रुपमा काम शुरु गरेको छ ।

मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीका अनुसार यो मन्त्रालयले केन्द्रको गृह मन्त्रालय सरह काम गर्नेछ । सूचना तथा सञ्चार, कानून र सामान्य प्रशासनको सम्पूर्ण कार्य यसै मन्त्रालयबाट हुनेछ ।

मन्त्रालयका सचिव खत्रीले प्रदेशका ६ मन्त्रालयमध्ये अधिकारको हिसाबले शक्तिशाली रहेको बताए । उनका अनुसार प्रदेशको शान्ति सुरक्षा, कर्मचारीको सरुवा, बढुवा र कानून निर्माणको रुपमा मन्त्रालयले भूमिका खेल्ने छ ।

सूचना तथा सञ्चार मन्त्रालयबाट हुने सम्पूर्ण काम यही मन्त्रालयले गर्नेछ । सचिव खत्रीका अनुसार शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, द्वन्द्व व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा मामिला र प्रदेश कर्मचारी यही मन्त्रालयले खटनपटन गर्नेछ ।

प्रशासन योजना तथा विपद् व्यवस्थापन, सुरक्षा समन्वय र कानून तर्जुमा महाशाखा गरी यस मन्त्रालयमा ३ वटा महाशाखा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित प्रदेशमा आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय रहनेछन् । संघीय शासन व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले प्रदेश नं १ मा मन्त्रालयको स्थापना हुने क्रम जारी रहेको छ ।

प्रदेशका प्रमुख सचिव यादव कोइरालाले सीमित श्रोत साधनका बाबजुद मन्त्रालय स्थापना गर्नेक्रम जारी रहेको बताए । मुख्यमन्त्री चयन भइसकेपछि सबै मन्त्रालयबाट काम सुचारु हुने छ । मन्त्रालय स्थापना हुने क्रमसँगै सचिव आउने क्रम पनि जारी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सन्तोष श्रेष्ठ, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयमा हरिबहादुर केसी र पूर्वाधार मन्त्रालयमा किशोरचन्द्र गौतम सचिवको रुपमा आइसकेका छन् ।
रासस

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार ००:००