१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ः मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत



२८ माघ, बुटवल ।
प्रदेश नं ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् ।

एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको हो ।

एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमत प्रदेश सदस्यको सहमतिसहितको संयुक्त हस्ताक्षर बुझाएका हुन् । सो प्रदेशमा कूल ८७ प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना छन् । एमाले माओवादी गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमतिअनुसार एमाले प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीका लागि अगाडि सारिएको हो ।

दुवै दलका संसदीय दलको संयुक्त पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले मुलुकमा राजनीतिक परिवर्तनपछि प्रदेश संरचना पहिलो अभ्यास भएकाले केही विलम्ब भए पनि संविधानले दिएको समयभित्रै सरकार निर्माण गर्ने विषयमा सचेत भएका बताए ।

प्रदेश प्रमुखसमक्ष पत्र बुझाएलगत्तै मुख्यमन्त्रीका लागि अगाडि सारिएका एमाले संसदीय दलका नेता पोखरेलले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि आगामी फागुन ३ गते शपथ ग्रहण कार्यक्रम हुने र त्यससँगै सानो मन्त्रिमण्डल गठन गरिने बताए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादी प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले प्रदेश सदस्य केसीलाई संसदीय दलको नेता चयन गरेको र आज नै मन्त्रिमण्डलमा पठाउने नेता तथा माओवादी केन्द्रले पाउने प्रदेशसभाको सभामुखका लागि नाम चयन गरिने बताए ।
रासस

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार ००:००