२४ माघ, जनकपुरधाम । प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएका सदस्यहरुलाई यहाँ आज प्रमाणपत्र वितरण गरिएकाे छ ।
प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली कांग्रेसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, खुलातर्फ कांग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै कानून र संविधानलाई न्यायपूर्ण बनाउनु पर्ने बताए ।
अब संघर्षको साटो समाधानको बाटो रोज्नुपर्नेमा उनकाे जोड छ । निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्य देवले जिम्मेवारीलाई सुविधाका रूपमा नलिई सेवाका रूपमा लिनुपर्ने उनकाे धारणा छ ।
संस्कृति मन्त्रीसमेत रहका उनले संघीयताका माध्यमले विद्यमान गरिबी, पछौटेपनलाई हटाई देशको मुहार फेर्न अग्रसर हुनु जरूरी भएको बताए । सभापतिको आशनबाट धनुषा जिल्लाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले प्रदेश नं २ का जनप्रतिनिधिसामु गहन जिम्मेवारी भएको बताए । रासस


प्रतिक्रिया