५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ प्रदेशसभा सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित



२२ माघ, धनगढी ।
प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ ।

प्रकाशित कार्यतालिका अनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने छ ।

यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिक प्रकाशन गरिएको ७ नं प्रदेश सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए ।

सभामुखका लागि नेकपा एमालेकी समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ । वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशसभाको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा र सभामुख एमालेको भागमा परेको जनाइएको छ । डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ ।

त्रिपन्न सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।
रासस

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ००:००