८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ३ को मुख्यमन्त्रीमा आकांक्षीको लर्को



प्रकाश सिलवाल
१९ माघ, हेटौँडा– मकवानपुर ।
सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको प्रदेश नं ३ को मुख्यमन्त्रीका लागि नेकपा एमाले का नेताहरुमा दौडधुप शुरु भएको छ । मुलुकको राजधानी काठमाडौं समेत रहेको १४ जिल्ला सहितको यस प्रदेशको प्रदेशसभाको प्रथम अधिवेशनको ऐतिहासिक पहिलो बैठकमा सम्पन्न भई सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसंगै मुख्यमन्त्रीमा आकांक्षी बढेका छन् ।

पहिलो बैठकस्थलमा सांसद सदस्य र सञ्चारकर्मीमाझ एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं, पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे धादिङ, पोलिटब्यूरो सदस्य पशुपति चौलागाई दोलखा, पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ काठमाडौं, केन्द्रीय सदस्य कैलाश ढुंगेल, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित, हेटौंडा नगरपालिकाका पूर्व प्रमुख तथा ज्येष्ठ सदस्य डोरमणि पौडेलसम्मले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । धेरै आकाङ्क्षी भएपछि निर्वाचन हुने छाँट देखिएको छ । यी आकांक्षीमध्ये कोही सभामुख वा उपसभामुख पनि हुने सम्भावना छ ।

अन्य प्रदेशमा पनि महिला मुख्यमन्त्री हुने सम्भावना नरहेको र जातीयता सन्तुलनको दृष्टिले उपाध्यक्ष शाक्य मुख्यमन्त्री बन्ने आँकलन गरिएपनि नेता पाण्डेले पनि आफूलाई सशक्त दाबेदार बनाएका छन् । नेत्री शाक्यले आफूले सबैलाई समेटेर अघि बढ्ने र यस प्रदेशलाई नमूना बनाउन प्रतिबद्ध रहेको प्रतिक्रिया दिइन् भने नेता पाण्डेले अन्य उम्मेदवारले भन्दा आफूले विकास र समृद्धिको अगुवाइ गर्न सक्ने दाबी गरे ।

नेता चौलागाँई भने आफू अन्तर्वार्ता दिँदै नहिँड्ने र पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्ने बताउछन् । ज्येष्ठ सदस्य पौडेलले पार्टीले निर्णय गरेमा आफू मुख्यमन्त्री वा सभामुख हुन तयार रहेको बताउछन् ।

चीनको केरुङ नाकादेखि प्रदेश नं २ को वीरगञ्ज भन्सारसम्म जोडिएको यस प्रदेशमा विकास र समृद्धिको खाकासहित मुख्यमन्त्रीको आकांक्षा व्यक्त गर्ने नेतामध्ये पार्टीका शीर्ष नेताको आशीर्वाद र सद्भाव कसलाई प्रकट हुने हो त्यस आधारमा पनि को विजयी हुने भन्ने अनुमान लगाउन सकिनेछ ।

एमालेको यही माघ १६ को स्थायी कमिटी बैठकले प्रदेश संसदीय दलको नेतामा सहमति नभए मतदान गर्ने निर्णयले पनि आकांक्षी बढाएको छ । संविधानबमोजिम संसद्मा बहुमत प्राप्त दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

एमाले एक्लै पनि बहुमतमा रहेको यस प्रदेशमा वाम गठबन्धनमा रहेका एमाले र नेकपा माओवादी केन्द्र बीच एमालेलाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ । सात प्रदेशमध्ये धेरै सांसद् ११० सदस्य भएको यस प्रदेश नं ३ मा एमालेका ५८ सदस्य छन् ।

प्रदेश नं ५ को संसदीय नेतामा प्रदेशसभाको शपथ भएकै दिन एमाले नेता शंकर पोखरेल संसदीय दलको नेतामा सर्वसम्मत भएकाले उनी मुख्यमन्त्री हुने निश्चित भइसकेको छ । यही माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनपछि प्रदेश संसदीय दलका नेता छनोट हुनेछन् ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००