६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी



किरण भट्टराई
१९ माघ, सप्तरी ।
स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन् ।

शम्भुनाथ नगरपालिका– ८ पोखरीयाका घुरन रामलाई अनबारुलले कतार पठाइदिने भन्दै डेढ वर्षअघि राहदानी र ९५ हजार नगद मागे । घुरन रामले ५ हजारमा बन्ने राहदानी छिटो बनाउन १० हजार तिरे र राहदानीसहित ३५ हजार अनबारुललाई बुझाए ।

त्यसबेला विदेश जान अरुबाट लिएको १ लाख ऋणको मासिक ब्याजमात्रै ५ हजार तिर्न परिरहेको उनको गुनासो छ । सो ऋण रकम काठमाडौं जाँदा आउँदा, अनबारुललाई दिँदा र राहदानी बनाउँदा सकिएको उनको भनाइ छ । उनले भने– “एकदिन त भोलिको फ्लाइट छ भन्दै खबर गरे । रातारात घर परिवारसँग विदावारी भएर काठमाडौं गएँ तर, फर्किएर आउनुप¥यो ।”

उनकी श्रीमती सीतादेवी रामले घरबाट कतार जाने भनी निस्किएका श्रीमान्लाई तीन चार पटक विदावारी गरेको तर, काठमाडौं पुगेर श्रीमान् फर्किने गरेको स्मरण सुनाइन् । घुरन राम त्यसबेला लागेको ऋण तिर्न यसै साता भारतको दिल्लीमा जान लागेका छन् । त्यहाँ महिनाको १५ हजार पाउने गरी कामका जान लागेको उनले सुनाए । अनबारुललाई पटक पटक आफ्नो ३५ हजार फिर्ता गर्न आग्रह गरेपनि फिर्ता नगरेको उनले गुनासो गरे ।

शम्भुनाथ नगरपालिका– ५ का रामनारायण सरदार अनबारुललाई ९५ हजार तिरेर कतार गएको डेढ महिनापछि स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किए । विदेश पुगेर स्वास्थ्य परीक्षण अनुत्तीर्ण भएमा स्वदेशमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले विदेश जाँदा लागेको रकम तिर्नुपर्ने व्यवस्था छ । अनबारुलले स्वास्थ्य परीक्षण गर्ने संस्थाबाट आफूले रकम उठाइदिन्छु भन्दै उनलाई गाउँ बोलाए तर, एक वर्ष बित्दासमेत उनले सो रकम दिलाउन लगाएका छैनन् ।

अझ अनौठो त के छ भने अनबारुलले ठगी गरेका व्यक्तिहरुलाई उल्टै रकम दिएको कागज गराउने गरेका छन् । साउदी अरबमा मासिक १ हजार २०० साउदी रियाल पाउने गरी राम्रो कामका लागि अवसर आएको र त्यहाँ पठाइदिने भन्दै अनबारुलले शम्भुनाथ नपा–९ बसवलपुरका मुसहर समुदायका कन्की सदासँग दुई वर्षअघि ६५ हजार लिए । अनबारुलले आफूले रकम लिएको कागज गर्नुको साटो उल्टै आफूले सदालाई ६० हजार दिएको कागज गराए ।

पीडित सदाले भने– “६५ हजार दिएको केही समयपछि अनबारुलले साउदीको भिसा आइसकेकाले जान १ लाख २० हजार लाग्ने भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए ।” सदालाई साउदी जाने भन्दै तीन चोटि काठमाडौं बोलाए तर, आज भोलि भन्दाभन्दै दुई वर्ष बित्यो । न त उनको पैसा फिर्ता आयो न त उनी विदश नै जान पाए ।

कन्की सदासँग मात्रै होइन उनका दाजु सुकदेवा सदासँग पनि उनै अनबारुलले साउदी अरबमा रोजगारीका लागि पठाइदिने भन्दै १ लाख ४० लिएका छन् । अनबारुलले साउदी पठाएका सोही गाउँका रामचन्द्र सदाले पनि भने अनुरुपको तलव पाएका छैनन् । रामचन्द्रका बुबा जिलेवी सदाले मासिक १ हजार २०० साउदी रियल पाउने भनेर पठाएकामा छोराले मासिक छ सय साउदी रियलमात्रै पाइरहेको जानकारी दिए ।

रामचन्द्रबाट पनि अनबारुलले रकम लिएर उल्टै रकम दिएको कागज गराएका छन् । जिलेवीले भने– “जानुअघि ६० हजार अनबारुललाई दिएपछि थप ६० हजार पुगेन भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए । त्यसमध्ये ४५ हजार तिरिसकें । अब १५ हजार तिर्न बाँकी छ ।”

छोराका कमाइ राम्रो नभएकाले फर्किने दिनसम्म पनि जाँदा लिएको ऋण तिर्न नसकिने हो कि भन्ने चिन्तामा छन् जिलेवी । शम्भुनाथकै अशोक कुमार रायलाई अनबारुलले एक हजार १०० कतारी रियल तलव पाउने भन्दै कतार पठाए । उनले ७०० रियल मात्रै पाउँदै आएका छन् ।
जाँदा ८० हजार तिरेर गएका रायलाई थप ४० हजार तिर्न बाँकी रहेको कागज अनबारुलले गराएका थिए । भने अनुसारको काम र तलव नपाएपछि रायले बाँकी रहेको रकम तिर्न अस्वीकार गरेपछि उनकी श्रीमतीविरुद्ध प्रहरी चौकीमा उजुरी गरे ।

यसरी विदेश लैजाने भन्दै दर्जनौं व्यक्तिलाई ठगी गरेका अनबारुल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वडा सदस्यमा निर्वाचित भए । सुरक्षित आप्रवास परियोजना सामि का परामर्शदाता निता चौधरीले अनबारुलले विदेश लैजाने भनी रकम लिएर नपठाएका, विदेश गइसकेपछि भनेअनुसारको काम र तलब नपाएका जस्ता एक दर्जनभन्दा बढी निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको जानकारी दिइन् ।

सामिको पहलमा घुरन राम, अरुन राम, रामनारायण सरदार लगायतले विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरीमा अनबारुलविरुद्ध उजुरी दिए पनि उनीमाथि अझै कारवाही हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले अनबारुलविरुद्ध प्रहरीमा परेको उजुरीबारे आफूलाई जानकारी नरहेको बताए । यसबारे स्थानीय प्रहरीबाट जानकारी माग्ने जवाफ पनि उनले दिए । अनबारुलसँग टेलिफोन सम्पर्क गरी ठगीको आरोपबारे सोध्न खोज्दा गलत नम्बर परेको भन्दै उनले तत्काल फोन काटे ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००