१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभामध्येकै पहिलो बैठक हेटौँडामा सम्पन्नः ‘स्थायित्व र सुशासन’मा जोड



प्रकाश सिलवाल
१८ माघ, हेटौँडा– मकवानपुर ।
प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् ।

सात प्रदेशमध्ये धेरै सांसद ९११० सदस्य० भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।

छलफलमा भाग लिँदै नेकपा एमाले का अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन् । उनले प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिदै जनआकांक्षालाई पूरा गर्न यो सभा सक्षम हुने विश्वास व्यक्त गरिन् ।

नेकपा माओवादी केन्द्र का शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसका इन्द्र बानियाँले वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौं हेटौँडा द्रुत मार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताए । उनले सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य मान्यताका साथ अघि बढ्न आग्रह पनि गरे ।

विवेकशील साझा पार्टीका रमेश पौडेलले राजनीतिक परिवर्तनको खोजीमा मुलुकले लामो समय व्यतित गरे पनि नयाँ संविधान प्राप्त भइसकेकाले अबको समय सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्न जोड दिइनुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सुरेन्दराज गोसाईंले प्रदेशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नारा भन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककी रीना गुरुङले एकात्मकबाट संघात्मक प्रणालीमा रुपान्तरित भए पनि संघीयतालाई मुलुकले थेग्न नसक्ने हो कि भन्ने शंका उपशंका मेट्ने गरी काम गर्न सक्नुपर्ने विचार व्यक्त गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी रीता माझी र स्वतन्त्र ९नयाँ शक्ति नेपाल० सांसद प्रेमबहादुर तामाङले प्रदेश सरकार छिटो चयन भई जनताका आशा अपेक्षा पूरा गर्न तदारुकता देखाइनुपर्नेमा जोड दिए ।

बैठकले प्रदेशसभा सञ्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित ग¥यो ।

सभामुखको निर्वाचन २७ गते

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि रामेश्वर फुयाँल, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई मनोनयन गरिएको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ ।
रासस

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार ००:००