१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा बैठकका लागि ४ सदस्यीय टोली पोखरा आइपुग्यो



वासुदेव पौडेल
१७ माघ, पोखरा ।
प्रदेश नं ४ को प्रदेशसभा बैठक आगामी माघ २२ गते पोखरामा हुँदैछ । प्रदेशसभाको बैठक सञ्चालन गर्ने स्थल पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको भवन एवं सभाकक्ष चिटिक्क पार्न लागिएको छ भने अन्य सम्बन्धित कार्यालय एवं सचिवालयको व्यवस्थापनको कामलाई द्रुत रुपमा अघि बढाइएको छ ।

प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित बनाउन र आवश्यक अन्य तयारी गर्न संसद् सचिवालयको चार सदस्यीय टोली मंगलबार पोखरा आइपुगेको छ । संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकी नेतृत्वको टोलीमा उपसचिव गोपाल सिग्देल शाखा अधिकृत अनन्त कोइराला र एक प्रविधिज्ञ छन् ।

टोलीले पोखरा आएसँगै प्रदेशसभाको बैठक बस्ने सम्बन्धमा भइरहेका भौतिक पूर्वाधार लगायतका कामका सम्बन्धमा आवश्यक जानकारी लिएको छ । साथै तयारीबारे सम्बन्धित पदाधिकारीसँग छलफल भइरहेको पनि सहसचिव बुढाथोकीले जानकारी दिए ।

गत माघ ७ गते प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका सदस्यलाई नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा शपथ खुवाएका थिए ।

प्रदेशसभा बैठकको मिति तोकिएसँगै त्यसको व्यवस्थापनका कार्यलाई तीव्ररुपमा अघि बढाइएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए । शपथपूर्व नै प्रदेशको अस्थायी कार्यसञ्चालन केन्द्रका रुपमा पोखराको पार्दीस्थित साविकको अध्यागमन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय बनाइसकिएको छ ।

पोखरालाई प्रदेश नं ४ को अस्थायी कार्यसञ्चालन केन्द्र बनाइएसँगै आवश्यकता अनुसार यहाँ कार्यालय, सचिवालय एवं आवासको व्यवस्थापन गर्ने कामलाई अघि बढाइएको छ । प्रदेशसभाको सचिवालयमा बैठक कक्षसहित मुख्य मन्त्रीको कार्यालय, सचिवालय एवं सभामुख तथा उपसभामुखको कार्यालय तथा सचिवालय खडा गर्ने काम भइरहेको क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं ४ का मुख्यमन्त्रीको कार्यालय एवं सचिवालय निर्माणाधीन श्रम कार्यालयको भवनमा राख्ने गरी रंगरोगन भइरहेको छ । पोखरा लेखनाथ महानगरपालिकाको ड्याम साइडस्थित अतिथि गृहलाई आवास स्थलका रुपमा व्यवस्थापन गर्न लागिएको छ ।

“प्रादेशिक संरचना नयाँ अभ्यास भएका कारण आवश्यकता अनुसारका कार्यालय स्थापना एवं सञ्चालन हुँदै जाने क्रममा छन्,” उनले भने– “अहिले तयार गरिएका कार्यालय तथा संरचना सबै अस्थायी हुन् । स्थायी संरचना निर्माण कार्य विस्तारै अघि बढ्दै जाने छ ।”

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्ष एवं सचिवालयलाई व्यवस्थित गर्ने कार्य तीव्रताका साथ अघि बढेको शहरी विकास डिभिजन कार्यालयका प्रमुख किशोरलाल माजुले जानकारी दिए ।

उनले भने, “मुख्य मन्त्रीको कार्यालय एवं सचिवालय श्रम कार्यालयको नवनिर्मित भवनमा हुने भएका कारण त्यसको रङ्गरोगनको काम भइरहेको छ ।” संसद् सचिवालयका सह सचिव बुढाथोकीका अनुसार प्रदेशसभाको पहिलो बैठकले संसद् सञ्चालनका लागि अन्तरिम कार्यविधि पारित गर्नेछ ।

प्रदेशसभा बैठकको सञ्चालनका लागि पहिलो बैठकमा अध्यक्ष मण्डल गठन हुने र पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन भइसक्नुपर्ने व्यवस्था रहेको छ ।
रासस

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ००:००