७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ को प्रदेशसभा पहिलो बैठकको तयारी अन्तिम चरणमा



प्रभाषचन्द्र झा
१७ माघ, विराटनगर ।
प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो ।

रंगरोगन लगायतका कार्य सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी राख्ने लगायतका आवश्यक काम गरिने शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका इन्जिनियर विनोद सिंहले जानकारी दिए ।

सभाभवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशन अनुरुप व्यवस्था मिलाइएको उनले बताए । मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक १ सय ४० वटा कुर्सीको व्यवस्था गरिएको छ ।

एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मी लगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ । ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुने सो कार्यालयका अर्का इञ्जिनियर सुरेन्द्रकुमार साहले जानकारी गराए ।

यस सम्बन्धमा प्रजिअ रामप्रसाद आचार्यले सभा भवनको मर्मत लगायत सम्पूर्णकार्य बढीमा तीन दिनभित्रमा सम्पन्न गर्न निर्देशन दिएको र सोहीअनुरुप काम भइरहेको बताए ।

प्रदेश नं १ को अस्थायी मुकाम विराटनगर भएपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, आवास, मन्त्रालय, सभा भवन लगायत मर्मतका साथै सम्पूर्ण व्यवस्थापनका लागि ७ करोड ५० विनियोजन भएको शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराए ।

उक्त रकमबाट सभाभवनको मर्मतका साथै यतिखेर मुख्यमन्त्रीको कार्यालय स्थापना हुने क्षेत्रीय कृषि निर्देशनालय र प्रदेश प्रमुखको कार्यालय स्थापना हुने क्षेत्रीय सिँचाइ निर्देशनालमा पनि मर्मत तथा रंगरोगनको काम शुरु भइसकेको छ ।

यसका साथै, मन्त्रालय स्थापना हुने भनिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको भवन, सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवन, जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयको भवनमा पनि मर्मतकार्य तीव्र गतिमा भइरहेको छ ।
रासस

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ००:००