१५ माघ, विराटनगर ।
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई पदका लागि निर्वाचन हुने भएको छ ।
प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा एमालेका परशुराम मेघी गुरुङ संखुवासभा, नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी मोरङ र एमालेकै हरिचरण शिवाकोटी झापा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा मोरङ, नेकपा माओवादी केन्द्रकी बीना पोखरेल मोरङ र कांग्रेसकी सरिता प्रसाईं झापा निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदमा प्रदेश नं १ मा दलित र अल्पसङ्ख्यक गरी दुई पदका लागि चार जना चुनावी मैदानमा छन् । दलिततर्फ एक पदका लागि एमालेबाट खेमराज नेपाली र कांग्रेसबाट विनकुमार विश्वकर्मा चुनावी मैदानमा छन् ।
त्यस्तै, अल्पसङ्ख्यक अपाङ्गतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र कांग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन् । यसअघि, अल्पसङ्ख्यक अपाङ्गतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्ना उम्मेदवारी फिर्ता लिएका थिए ।
रासस


प्रतिक्रिया