३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सञ्चालन गर्न दिग्दर्शन बनाएर पठाइयाे

लेखक स्थानीय खबर १३ माघ २०७४, शनिबार ३ मिनेट पढाइ

नारायण न्यौपाने
१३ माघ, काठमाडौं ।
संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनलाई व्यवस्थित तुल्याउन सजिलो होस् भनेर अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेतका विषय समेटिएको दिग्दर्शन नै बनाएर पठाएको छ ।

विधि र प्रक्रियाका हिसाबमा प्रदेश सञ्चालनमा कुनै कमजोरी नहोस् भनेर अन्तरिम कार्य विधि समेटिएको दिग्दर्शन नै बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

प्रदेशसभा संरचना हाम्रो मुलुकमा नितान्त नौलो अभ्यास भएको हुँदा पहिलो बैठक र यसले गर्ने निर्णय आगामी दिनका लागि नजिरका रुपमा हेरिने हुँदा संघीय संसद् सचिवालयले पनि यो विषयलाई गम्भीरताका साथ लिएको छ– उनले भने । प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुनेछ जसलाई प्रदेशसभा भनिनेछ ।

प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएको घोषणासँगै ७ वटै प्रदेशसभा गठन भइसकेको छ । प्रदेशसभाको गठनसंगै प्रदेशसभाका सदस्यले शपथसमेत लिई सकेका छन् ।

प्रदेशमा कायम रहेको जनसंख्या र भूगोल आदिका कारण प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यको संख्या भने फरकफरक रहेको छ ।

बैठक सञ्चालनको विधि र प्रक्रिया सहितको अन्तरिम कार्यविधिको मस्यौदालाई प्रदेशसभाको पहिलो बैठकले अनुमोदन गर्ने छ । उक्त अन्तरिम कार्यविधिले शुरुवातका दुई महिनासम्म कार्य सञ्चालन गर्न निकै सघाउ पुग्ने प्रवक्ता डा गौतम बताउछन् ।

धेरैजसो प्रदेशसभाको बैठक आह्वान भए पनि सभाहल र जनशक्तिको भने अझै व्यवस्थापन हुन सकेको छैन । सभा सञ्चालनका लागि विशेषज्ञ जनशक्ति तथा रेकर्डिङ र ध्वनि नियन्त्रणजस्ता अत्याधुनिक प्रविधियुक्त कक्षको आवश्यकता पर्दछ ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखबाट प्रदेशसभाका बैठक आह्वान भएका हुन् ।

संघीय संसद् सचिवालले प्रदेशसभा विधि र प्रक्रियाअनुरुप सञ्चालन गर्न सभामुख, प्रदेशसभा सचिव, सत्तापक्ष, सरकारका मन्त्री र प्रतिपक्षका लागि तयार गरिएको कुर्सी व्यवस्थापन ढाँचा (लेआउट) लगायतका विषयमा एकरुपता कायम होस् भन्नका लागि सहसचिवको नेतृत्वमा अन्य प्राविधिक कर्मचारीलाई प्रशिक्षण दिएर खटाइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रदेश प्रमुखबाट बैठकको आह्वान गर्दा संविधान सम्मत होस् भन्नका लागि संविधानको धारा वा उपधारा उल्लेख गर्नुपर्ने तथा सभामुखको चयन, सरकार गठनजस्ता विषयमा पनि विधि, प्रक्रिया र सुझबुझका साथ अघि बढ्दा मात्र फलदायी हुन सक्ने विज्ञको भनाइ छ ।

प्रदेशसभाका बैठक कति अनुसाशित र मर्यादित होला भन्ने विषय अहिले सबैको चासो बन्न पुगेको छ । प्रदेशसभाको पहिलो बैठकको मुख्य कार्यसूची भनेको अन्तरिम कार्यविधि अनुमोदन र सभामुखको निर्वाचनको मिति तोक्ने नै हुनुपर्दछ– प्रवक्ता गौतम भन्छन् ।

प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको निर्वाचन हुनअघि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छ । ज्येष्ठ सदस्यका अध्यक्षतामा बस्ने परामर्श समिति र अन्य बैठकले आगामी दिनको कार्यसूची तय गर्ने छ ।

संघीय संसद्को जस्तै, प्रदेशसभाको पहिलो बैठकको प्रारम्भमा राष्ट्रिय धुन प्रस्तुत हुनका साथै मुलुक र जनताका खातिर राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादातप्राप्त शहीदको सम्मानमा मौन धारणपछि मात्रै अन्य कार्यसूचीमा प्रवेश हुनेछ ।
रासस

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।