८ माघ, लहान । माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइए पनि सिराहका अधिकांश गाउँपालिका र नगरपालिका अन्योलमा छन् । नयाँ व्यवस्थाअनुसार कसरी सञ्चालन गर्ने भन्नेमा अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरू अन्योलमा छन् ।
संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई माध्यमिक तहसम्मका शिक्षा सञ्चालनको जिम्मा र परीक्षा सञ्चालनको जिम्मा परीक्षा बोर्डलाई दिएपछि ती दुवैको बीचमा कसरी सहकार्य गरेर अघि बढ्नेमा अन्योल भएको हो ।
आगामी चैत महिना पछि अहिलेको जिल्ला शिक्षा कार्यालयसमेत खारेज हुनेछ । त्यसपछि स्थानीय तह र परीक्षा बोर्डको बीचमा कसले समन्वय गर्ने भन्ने कुनै व्यवस्था नभएकाले पनि अन्योलमा परेको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले बताए ।
“शिक्षा सञ्चालन र परीक्षा सञ्चालनको जिम्मा फरकफरक निकायलाई दिइएका कारण समन्वय कसले गर्ने भन्नेमा अन्योल छ,” उनले भने, “दुई निकायबीचको समन्वय, पाठ्यक्रम निर्धारणजस्ता बिषयहरूमा पनि अन्योल छ ।”
असिरहाको गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले आगामी चैतमा एसइईको परीक्षा आउनै लागेकाले चाँडो अन्योल हटाउनु पर्नेमा जोड दिए । दुवै निकायलाई समन्वय गर्न जिल्लास्तरीय संयन्त्र बनढाउनु पर्ने साह बताउँछन् । पाठ्यक्रम कसरी तयार गर्ने, जनशक्ति कसरी परिचालन गर्नेमा भन्नेमा अन्योल छ । अन्योलका कारण शिक्षकलाई तलब खुवाउनेबाहेक कुनै काम गर्न नसकिएको स्थानीय तहको प्रमुख र उपप्रमुखहरूले बताए ।
अन्योल हटाउन र समन्वयको वातावरण निर्माण गर्ने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डले सोमबार लहानमा आयोजना गरेको ‘संघीय संरचनामा राष्ट्रिय परीक्षा बोर्डको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले स्थानीय तह र राष्ट्रिय परीक्षा बोर्डलाई एकापसमा जोड्न जिल्लामा छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने बताए । समन्वयका लागी अस्थायी चरित्रको संयन्त्र निर्माण गर्नुपर्ने पौडेलले बताए ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा सञ्चालन संयन्त्र बनाउने जानकारी दिँदै पोडेलले उक्त समितिमा आउन स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आग्रह गरे ।
हालको परीक्षा सञ्चालन प्रणालीको विषयमा व्यापक छलफल भइरहेको बताउँदै पौडेलले केन्द्रीय पाठ्यक्रमभित्र रहेर स्थानीय सरकार र प्रादेशिक सरकारबीच एकरुपता कायम हुने गरी पाठ्यक्रम बनाउनुपर्ने बताए । उक्त कार्यक्रममा सिरहाका ८वटै नगरपालिकाका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतको सहभागिता थियो । रासस


प्रतिक्रिया