४ माघ, विराटनगर ।
प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेको हो । ऐतिहासिक नगरी विराटनगरमा अस्थायी राजधानी हुनुपर्ने सबै पूर्वाधार विद्यमान रहेकाले सरकारको यो निर्णय न्यायपूर्ण भएको भनेर विभिन्न क्षेत्रका व्यक्तिले सोही अनुरुप आ–आफ्ना विचार व्यक्त गरेका छन् ।
नेकपा एमालेका मोरङ अध्यक्ष विनोद ढकालले विराटनगरलाई प्रदेश नं १ को अस्थायी मुकाम तोकेको कार्यलाई हार्दिक स्वागत गरेका छन् । उनले विराटनगरमा सबै पूर्वाधार रहेकाले विराटनगरबाहेक अन्यत्र विकल्प नरहेको स्पष्ट पारे ।
नेकपा माओवादी केन्द्र मोरङका नेता गोपी अछामीले विराटनगरलाई अस्थायी राजधानी बनाउने कार्य अत्यन्त राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै मिश्रित बसोबास भएको, सीमावर्ती क्षेत्रका पिछडिएका वर्ग, उत्पीडित जाति, आदिवासी जनजातिलगायत सबैको उत्थानमा सहयोग पुग्ने विश्वास प्रकट गरे ।
संघीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादवले सरकारको निर्णय स्वागतयोग्य रहेको र ऐतिहासिक नगरी विराटनगर लगायतका क्षेत्रको विकासमा थप बल पुग्ने धारणा प्रकट गरे ।
मोरङ व्यापार संघका अध्यक्ष पवन शारदाले प्रत्येक दृष्टिकोणबाट विराटनगर अस्थायी राजधानी हुनुपर्ने थियो, राजा विराटको राजधानी, औद्योगिक नगरीका साथै स्वास्थ्य, शिक्षा, समानुपातिक तथा समावेशी आधारमा पनि विराटनगरबाहेक अन्य विकल्प नरहेको बताए ।
अर्का उद्योगपति नवीन रिजालले विराटनगरका साथै नजिकका बजारहरुमा चहलपहल बढ्ने, उद्योग स्थापना हुने, रोजगारमा बृद्धि हुनाका साथै नयाँ कार्यालयहरु स्थापना भएपछि निम्नवर्गसमेत लाभान्वित हुने विश्वास व्यक्त गरे ।
विराटनगरका स्थानीयवासी सन्तोष यादवले विराटनगर अस्थायी राजधानी भएकोमा गौरवान्वित महसुश गरिरहेको बताउछन् । यसको माध्यमबाट समाजका सबै वर्गलाई लाभ पुग्ने कुरा उनले बताए ।
दीप प्रज्वलन
यसैबीच, सरकारले प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि बुधबार साँझ विराटनगरवासीले खुशियालीमा दीप प्रज्वलन गरेका छन् । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले विराटनगर महानगरपालिकामा दीप प्रज्वलन गरी सरकारको यस कदमलाई स्वागत गरे ।
सो अवसरमा प्रमुख भीम पराजुलीले विराटनगर अस्थायी मुकाम भएकोमा खुशी प्रकट गर्दै ऐतिहासिक नगरी सबै पूर्वाधारयुक्त विराटनगरलाई अस्थायी मुकाम बनाउनका लागि लामो समयदेखि गरिएका प्रयास सफल भएको बताए । यसका साथै विराटनगरको मुख्य बजार, ट्राफिकचोक, महेन्द्रचोक लगायत विभिन्न ठाउँमा दीप प्रज्वलन गरी स्वागत गरिएको थियो ।
रासस


प्रतिक्रिया