५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यलयमा तालाबन्दी



३ माघ, धनकुटा ।
प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी गर्न गएको टोलीबीच घम्साघम्सी भएको छ ।

बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप भएको हो । प्रदेशसभाका सांसदद्वय नीरन राई र इन्द्रमणि पराजुलीको नेतृत्वमा प्रशासन तालाबन्दी गर्न गएको टोली झडप भएको थियो ।

क्षेत्रीय प्रशासन कार्यालयको मूलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालय परिसरमा पुगेपछि क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध नाराबाजी गरेका थिए । क्षेत्रीय प्रशासक उपस्थिति नभए पनि कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।

आमहडतालले धनकुटाका बजार, शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द रहेका छन् । कोशी राजमार्गमा यातायात ठप्प छ । एक्कासि आन्दोलनकारीले आमहडताल घोषणा गरेपछि बिहान कोशी राजमार्ग हुँदै संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका जिल्लातर्फ हिँडेका सयौँ सवारी साधन भेडेटार, मूलघाट, हिले, संधुवा लगायतका स्थानमा सवारी साधन रोकिएका कारण यात्रु अलपत्र परेका छन् ।

विगत एक महिनादेखि भएको राजधानी आन्दोलन अनिश्चितकालीन आमहडतालले कोशी पहाडको जनजीवन प्रभावित हुँदै गएको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधबार बिहान मोटरसाइकल तोडफोड गरेका छन् ।

संखुवासभाको सभापोखरीबाट धरानतर्फ जाँदै गरेको चन्द्र राईको को २६ प ५६११ नंको पल्सर बाइक आन्दोलनकारीले कोशी राजमार्गको आत्माराको सडकखण्डमा तोडफोड गरेका हुन् ।
रासस

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ००:००