२९ चैत्र २०८०, बिहिबार | Thu Apr 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा सडक पुगेपछि जनजीवन सहज



भोजराज कार्की
२ माघ, सल्लेरी— सोलुखुम्बु ।
जिल्लाको पावैका भक्त कार्की पाँच वर्ष अगाडिसम्म ढाँकर र तोक्मासंगै भेटिन्थे । बाह्रै महिना उनको थाप्लोमा नाम्लो हुन्थ्यो । अहिले उनको थाप्लोमा नाम्लो छुटेको छ । चौध वर्ष निरन्तर साहुको भारी बोकेका कार्कीको गाउँमा सडक पुगेपछि थाप्लोमा ढाँकर र तोक्मा छुटेको छ ।

पावैका भलाबहादुर विश्वकर्मा १६ वर्षको उमेरमा ढाँकर र तोक्मा बोक्न थालेका हुन् । उनी १५ दिन हिँडेर उदयपुरको कटारीबाट चार पाथी नून र आठ पाथी चामल ल्याउथे । “चप्पल नै नलगाई ओहरदोहर गर्दा पैताला टेक्नै नहुने हुन्थे,” उनले भने ।

कार्की र विश्वकर्माले जस्तै पावैका बासिन्दाले सडक पुग्नुअघि ढाँकरमा तोक्माको सहायताले सामान बोक्ने गर्दथे । “सत्तरी किलोसम्मको भारी बोकेर तोक्मा टेक्दै हिँडेको हिजो जस्तो लाग्छ,” पावैका शिवराम तिवारीले भने । उनले १५ वर्षको उमेरदेखि भारी बोक्न थालेका हुन् ।

दैनिक उपभोग्य वस्तु नूनदेखि तेलसम्म किन्न १५ दिनको बाटो हिँडेर उदयुरको कटारी र दोलखाको जिरी बजार धाउनुपर्ने सोलुखुम्बु कोशीपारिका ग्रामीण भेगका बासिन्दाको बाध्यता थियो । त्यतिबेला गाउँमा पसल नै थिएनन् । भरियामार्फत सामान ढुवानी गरिन्थ्यो भने गाउँका पसलमा चाहेको बेला सामान पाउन मुश्किल हुन्थ्यो ।

अहिले उदयपुरको घर्मी र ओखलढुंगाको रमाइलो डाँडासम्म सडकसंगै यातायातका साधन सञ्चालनमा छन् । यहाँका बासिन्दाले राहत महसुस गरेका छन् । “छिमेकीको घरमा पैँचो माग्दा पाउन मुस्किल हुन्थ्यो,” सोताङका लोकबहादुर कार्कीले भने, “भात खानका लागि चाडपर्व नै आउनुपर्थ्यो ।”

अहिले गाउँमै सबै सामान सुपथ मूल्यमा पाइन्छ । अहिले सदरमुकाम सल्लेरी हुँदै १७ कोष पूर्वको महाकुलुङ गाउँपालिकाको बुङदेखि काठमाडौँसम्म यातायातका साधन सञ्चालनमा छन् । यहाँका बासिन्दालाई आवतजावत गर्न तथा सामान ढुवानी गर्न सहज भएको छ । भरिया र खच्चडमार्फत सल्लेरीबाट सामान ढुवानी गर्ने व्यवसायी अहिले ट्र्याक्टरमा ढुवानी गर्न थालेका छन् ।

“खच्चड र भरियाभन्दा ट्र्याक्टरमा सामान ढुवानी गर्न सस्तो पर्छ,” महाकुलुङ गाउँपालिका–४ का व्यापारी सिद्धमान कुलुङले भने, “एक किलो सामान ढुवानीमा पहिलाकोभन्दा अहिले ३० सम्म घटेको छ ।” अहिले थुलुङ दूधकोशी गाउँपालिकाको देउसा र सोताङ गाउँपालिकाको पावै नजिकै दूधकोशीसम्म ट्र्याक्टरमार्फत सामान ढुवानी गरिँदै आएको छ ।

सोताङसम्म सडक पुगेपछि कोशीपारिका गाउँका बासिन्दालाई राहत मिलेको छ । सदरमुकाम पुग्नकै लागि बास बस्नुपर्ने बाध्यता हटेको छ । “सोताङ बजारसम्म सामान ढुवानी गर्न समस्या छैन,” व्यवसायी दीपक खड्काले भने, कोशीपारिका बासिन्दलाई अहिले निकै सहज भएको छ ।”

कोशीपारिका गाउँमा सडक पुगेपछि अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको छ । महाकुलुङको बुङसम्म यातायातका साधन सञ्चालनमा छन् । महाकुलुङको बुङदेखि करिब चार घण्टा पैदल हिँडेर गुदेल पुगिन्छ । गुदेलमा नै सबै सामान पाउन सकिने भएको छ । दिप्लीबाट खच्चडमार्फत सामान ढुवानी गर्नुपर्दा महँगो पर्ने गरेकामा अहिले सवारीसाधनमार्फत ढुवानी गर्दा लागत कम भएको व्यवसायी श्रीध्वज राई बताउछन् ।

“ग्रामीण भेगमा यातायातका साधन सञ्चालन भएपछि स्थानीय कृषिउपज बजारसम्म पु¥याउन सहज भएको छ,” थुलुङ दूधकोशी गाउँपालिका देउसाका वीरबहादुर राईले भने । देउसा जिल्लाकै सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र हो । सडक नपुग्दासम्म विगतमा चैत वैशाखसम्म सुन्तला बोटमै सुक्ने गरेको राईले बताए । अहिले जिप र ट्र्याक्टरमा सुन्तला नेले, सल्लेरी र काठमाडौँसम्म ढुवानी गरिँदै आएको छ ।

“सडक नपुग्दा प्रतिवटा सुन्तलाको मूल्य १० पर्ने गरेकामा अहिले घटेर प्रतिवटाको ६ पर्छ,” स्थानीयवासी सन्तोष राईले भने । अन्य कृषिउपजको मूल्यमा समेत कमी आएको छ । करिब ३० प्रतिशत कम मूल्यमा बिक्री गर्दासमेत पहिलाको भन्दा नाफा नै हुने गरेको उनी बताउछन् । कृषिमा व्यवसायीकरण गर्न गाउँगाउँमा सडक पुगेपछि सजिलो भएको छ ।

सडक पुगेपछि यहाँका बासिन्दाले विकासको अनुभूति गर्न थालेका छन् । दिनहुँ पैदलयात्रा गरेर महँगोमा किनेर ल्याउने सामान घर नजिकैको पसलमा सुपथ मूल्यमा पाउँदा सर्वसाधारण हर्षित छन् । “सबै सामानको मूल्य घटेको छ, गाउँकै पसलमा सबैथोक पाइन्छ, टाढा जानुपरेको छैन,” थुलुङ दूधकोशी गाउँपालिका– ६ मुक्लिका अक्कलबहादुर श्रेष्ठले भने ।

आठवटा स्थानीय तह रहेको जिल्लामा खुम्बु पासाङल्हामु गाउँपालिकाबाहेक अन्यमा सडक पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकालाई समेत सडकले जोड्नका लागि बाटो खन्ने काम भइरहेको सो गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए ।
रासस

प्रकाशित मिति : २ माघ २०७४, मंगलबार ००:००