७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयरामघाटमा पुल बनेपछि हलेसीमा आउने पर्यटक बढ्यो



३० पुस, खोटाङ । राजधानी काठमाडौंलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो ।

निर्माण कार्य थालेको ९ वर्षपछि पक्की पुल सञ्चालनमा आएपछि हिउँद वर्षा बाह्रै मास नदी वारपार गर्ने वातावरण बनेको छ । बाह्रै महिना आउजाउ गर्न सक्ने भए पछि हलेसीमा दर्शनार्थी पर्यटक ओइरिन थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

“जयरामघाटमा पक्की पुल बनेपछि सवारी साधनबाट दूधकोशी तरेर हलेसी आउन सकिन्छ,” उनले भने, “यसअघि सुनसान जस्तै हुने हलेसीमा पछिल्लो समय दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड लाग्छ ।”

मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भए पनि पुलको अभावमा वर्षाको समयमा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । जयरामघाटको पक्की पुल गत मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै व्यापार व्यवसाय पनि फस्टाउँदै गएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । “विगतका बर्षहरूमा खाली रहने हलेसीका होटलहरू अहिले भरिभराउ छन्”, उनले भने, “पर्यटक र दर्शनार्थीको संख्या बढ्न थालेपछि सुविधा सम्पन्न होटल खोल्नेक्रम पनि शुरु भएको छ ।”

धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफा लगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिए । सदरमुकाम दिक्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीजलगायतमा ठूलो मेला लाग्ने गर्दछ । रासस

प्रकाशित मिति : ३० पुस २०७४, आइतबार ००:००