८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूल निर्माणमा बजेट अभाव, माग ७७ अर्ब, निकासा ३ अर्ब



 

रमेश लम्साल/हरि लामिछाने

२९ पुस, काठमाडौं । बजेट अभावका कारण देशभर निर्माणाधीन ९ सयभन्दा बढी मोटरेबल पूल समयमै सम्पन्न गर्न समस्या भएको छ । चालू आर्थिक बर्षमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत ३ अर्ब रुपैयाँ मात्र विनियोजन भएको छ । तर निर्माण गर्नुपर्ने पूलको संख्या भने ९ सय भन्दा बढी छ ।

महाशाखाले ६२ अर्ब रुपैयाँ बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पूलहरू लक्षित अवधिमा सम्पन्न हुन समस्या हुने देखिएको छ । ठेक्का पूरा भई निर्माण भइरहेका ९ सय ११ वटा पूलको लागत मात्रै ६२ अर्ब रुपैयाँ भन्दा बढी छ । राजमार्गमा निर्माण भइरहेको २ सय ७६ पूलको १५ अर्ब रुपैयाँ छ । महाशाखाका अनुसार ७७ अर्ब रुपैयाँभन्दा बढी लागतको पूल निर्माणधीन अवस्थामा छ ।

फाइल तस्बिरः रामेछाप र अाेखलढुङ्गा जाेड्ने निर्माणाधीण लिखु पूल ।

ठेक्का सम्झौताअनुसार तीनदेखि चार वर्षभित्र सबै पूल निर्माण गरिसक्नुपर्ने हुन्छ । विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार ६२ अर्ब रुपैयाँको पूल निर्माण गर्न वर्षेनी रु १६ अर्ब रकम आवश्यक हुन्छ । “पूल निर्माणको मुख्य समस्या भनेको बजेटको अभाव हो, राजनीतिक नेतृत्वले प्राथमिकत अनुसारको बजेट माग गर्दैनन्,” उनले भने, “निर्वाचन क्षेत्र र आफन्तका घर बस्ती जोड्न पूल मात्र माग्ने परिपाटी छ ।”

निर्माण व्यवसायी दैनिकजसो महाशाखामा रकम भुक्तानीका लागि आउने गरेको भए पनि बजेट अभावमा दिन नसकिएको उनले बताए । बजेट अभावमा पूल निर्माणले समयमै गति नलिएपछि जनस्तरबाट आक्रोशसमेत व्यक्त हुने गरेको छ । बजेट अभावका कारण ४ वर्षे ठेक्का पूरा हुन १० वर्षसम्म लाग्ने गरेको छ । जसका कारण लागत बढ्नुका साथै जनस्तरबाट समेत विरोध हुने गरेको छ । “यो यर्थाथ हो, केहीलाई यर्थाथ तितो लाग्न सक्छ, बजेट नभएकै कारण हामीले पूल निर्माणलाई सोचेजति गति दिन सकेनौं,” उनले भने ।

देशभर नै पूल निर्माणका लागि दैनिकजसो माग आइरहने र सरकारले समेत पुल निर्माणलाई विशेष प्राथमिकतामा राखेका कारण महाशाखालाई बजेट एवं जनशक्ति परिचालनमा समेत समस्या भएको छ । नयाँ नयाँ सडक बनीरहेको, सोही आधारमा पूलको मागसमेत बढिरहेको अवस्थामा बजेटको अभावका कारण आफूहरुलाई नयाँ पूल निर्माणमा समस्या उत्पन्न भएको उनले जानकारी दिए ।

उहाँका अनुसार चालू आवमा ५० वटा पूल निर्माण सम्पन्न हुने छन् । सरकारले आवको अन्त्यमा हरेक पटक रकमान्तर गरेर भए पनि बजेट उपलब्ध गराउने गरेको जानकारी दिँदै उनले विभागले हरेक वर्ष कूल बजेटको ९० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको दाबी गरे ।

अहिले देशभर २ हजार ९ वटा पूल निर्माणाधीन रहेको छ । त्यसमध्ये नयाँ निर्माण भएका सडकमा ५ सय वटा नयाँ पूल बनाउन माग भई आएको छ । यस्तै ३ सय वटा सहायक तथा पहुँचमार्गमा पूल निर्माण गर्नु पर्नेछ । यस्तै स्थानीय सडकमा पनि ९ सय वटा पूल निर्माण गर्नुपर्ने देखिएको छ ।

महाशाखाको अलावा भारतीय आयात निर्यात बैंक, चिनियाँ आयात निर्यात बैंक, एशियाली विकास बैंक, विश्व बैंकलगायतको सहयोगमा समेत केही पूल निर्माणका क्रममा छन् ।

अब बन्ने पूल चार लेनका

महाशाखाले आगामी दिनमा निर्माण हुने पूल चार लेनको बनाउने तयारी गरेको छ । भारत जोड्ने महाकाली नदी माथिको पूल चार लेनको बनाउन ठेक्का सम्झौता भइसकेको छ । बढ्दो शहरीकरण, सवारीसाधनको वृद्धि तथा जनजीवन सहज बनाउनका लागि पूल चार लेनको बनाउन थालिएको सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले जानकारी दिए ।

महाशाखाले जनकपुर–जटहीमा ६ लेनका सडकमा तीन वटा, भैरहवा– बुटवल सडकखण्डमा ४ लेनका दुई वटा, नेपालगञ्ज–सुर्खेत सडकखण्डमा ४ लेनका पाँच वटा, वीरगञ्ज–पथलैया ६ लेनको एउटा, पथलैया–दुधौरा ४ लेनको एउटा पूल निर्माण शुरु गरेको छ । ती सबै पूल सरकारको पाँच वर्षे रणनीतिक योजनाअन्तर्गत पर्छ ।

यस्तै नारायणगढ– बुटवल, बुटवल कोहलपुर सडक खण्डको विस्तारसँगै पूल पनि सोही लेनका आधारमा निर्माण गरिने छ । सो सडक खण्ड ६ लेनको बनिरहेको छ । यस्तै काठमाडौँ– पोखरा सडकखण्ड चार लेनको बनाउने तयारी भएपछि पूलसमेत ४ लेनकै बनाउने गरी नक्सा तयार गर्न थालिएको शाक्यले जानकारी दिए ।

चीनसँग जोडिएका सबै सडक मार्ग डबल लेन बनाउने गरी तयारी भएकाले पूल समेत डबल लेनमा नै निर्माण गरिनेछ । थापाका अनुसार सडकको चौडा विस्तार सँगसँगै पूललाई पनि सोहीअनुसार पुनःनिर्माण तथा नवनिर्माण गर्न लागिएको बताए । नारायगढ– बुटवल सडकखण्डमा एशियाली विकास बैंकले ७ अर्ब रुपैयाँ सडक निर्माणमा खर्च गर्ने तयारी गरिरहेको छ । रासस

प्रकाशित मिति : २९ पुस २०७४, शनिबार ००:००