२९ पुस, बैतडी । बैतडीमा बालविवाह न्यूनीकरणका लागि ५ वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो ।
गएको चैतदेखि रणनीतिक योजना बनाउने कार्य शुरु गरी तयार पारिएको कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । “बैतडी धेरै बालविवाह हुने जिल्लामध्ये पाँचौँ स्थानमा छ । त्यसैले न्यूनीकरण गर्न रणनीतिक योजना तयार पारेका हौं, ” शाहीले भने ।
योजनामा बालिका र किशोरीे सशक्तीकरण, उनीहरुका लागि गुणस्तरीय शिक्षा तथा बालक, किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानून तथा नीतिको सुदृढीकरण र कार्यान्वयन समेटिएको छ ।
सो रणनीतिक योजना सार्वजनिक गर्दै ओआरडीएसका लोकेशलाल शाहले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बालविवाह कानूनविरुद्धको कार्य भए पनि अहिलेसम्म जिल्लामा यस विरुद्ध कुनै उजुरी नपरेको बताए ।
महिला विकास अधिकृत अनिता बुढा ऐरले बालविवाहले समग्र महिलाको जीवनमा समस्या ल्याउने भएकाले यसको रोकथामका लागि सबै लाग्नुपर्नेमा जोड दिएकी छन् । रासस
प्रतिक्रिया