१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोकिने छः प्रधानमन्त्री



२७ पुस, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने– “विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।”

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको बताए ।

उनले भने, “राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्र निर्माता शाहको शालिकमा माल्यार्पण गरेर दिवस मनाइएको छ, यसमा अब कुनै विवादको विषय छैन, पृथ्वीनारायणलाई कुनै राजनीति वा संस्थासंग जोडेर हेरिनुहुन्न, यो सम्पूर्ण नेपालीको साझा सम्मान हो ।”

समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, रक्षामन्त्री भीमसेनदास प्रधान लगायत मन्त्री, नेकपा एमाले का नेता सुवास नेम्वाङ, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, अधिवक्ता, पत्रकार तथा राप्रपाका नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता थियो ।

विगतमा हरेक वर्ष पुस २७ गते मनाइँदै आएकोमा दोस्रो जनआन्दोलनपछि सरकारले पृथ्वी जयन्तीको बिदा कटौती गरेपछि राप्रपाले हरेक वर्ष उक्त दिनलाई दिवसका रुपमा मनाउन माग गर्दै आएको थियो । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा औपचारिकरुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
रासस

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार ००:००