८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैनः मन्त्री थापा



२७ पुस, पोखरा ।
कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उनले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पारे ।

प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान तोक्ने र प्रदेश प्रमुखको नियुक्ति भने छिट्टै गरिने बताउँदै मन्त्री थापाले निजी क्षेत्रलाई अलग गरेर मुलुकको समृद्धि र आर्थिक विकास सम्भव नहुने विचार व्यक्त गरे ।

प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले मेला र महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने बताउँदै भ्रष्टाचारलाई अन्त्य गरी अब सत्ता पक्ष र प्रतिपक्षी विकास र समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, महासंघको प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रजिअ तारानाथ अधिकारी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी लगायतका वक्ताले मेलाको उपादेयतामाथि प्रकाश पारे ।

‘लगानीको संवर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो मेला माघ ८ गतेसम्म चल्नेछ । मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, बैंकिङ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्री–वितरणका लागि २९० वटा स्टल राखिएको छ ।

मेलालाई थप आकर्षण बनाउन लोकदोहोरी, नेपालका ख्यातिप्राप्त ब्याण्डको सांगीतिक कार्यक्रम, लोक नृत्य, रत्यौली प्रतियोगिता जस्ता कार्यक्रम पनि राखिएको छ । टिकट काटेर मेला अवलोकन गर्ने एकजना भाग्यशाली दर्शकलाई मेलाको अन्तिम दिन लक्की ड्रबाट एउटा कार दिइने बताइएको छ ।
रासस

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार ००:००