२१ पुस, तुलसीपुर— दाङ ।
घोराही उपमहानगरपालिकाले ६ स्थानमा जलाधार संरक्षणका लागि बाँध निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षणका लागि ६ स्थानमा बाँध निर्माण गर्न दुई करोड बजेट विनियोजन गरेको छ ।
सो रकमबाट वडा नं ५ को तुईखोलामा १५ लाख, वडा नं १२ को सिस्नेरीमा २५ लाख, वडा नं १३ को ज्यामिरेमा ५५ लाख, वडा नं १७ गुलरियामा ४० लाख, ढिकपुरमा ४५ लाख र वडा नं १८ को गिठेपानीमा २० लाखको लागतमा बाँध निर्माण गर्न लागिएको हो ।
उक्त बैठकले अन्य चारवटा जालधार क्षेत्रको मर्मतका लागि ५० लाख खर्च गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । वडा नं १६ को गंगटे बाँध मर्मतका लागि ३५ लाख, वडा नं। १७ को आरोग्य बाँध मर्मतका लागि ५ लाख, वडा नं १८ का डवरी र अम्वापुरको बाँध मर्मतका लागि ५–५ लाख गरी ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।
आयोजना कार्यान्वयनमा सघाउ पु¥याउने उद्देश्यले नगरस्तरीय तथा वडास्तरीय सम्पूर्ण आयोजना अनुगमन गर्न उपप्रमुख सीता न्यौपानेको संयोजकत्वमा छ सदस्यीय योजना अनुगमन समिति पनि गठन गरिएको छ ।
त्यसैगरी बैठकले उपमहानगरले ६ स्थानमा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने गरी ६० लाख बजेट विनियोजन गरिएको जनाएको छ । वडा नं १८ मा हात्तीखर्क नगर स्वास्थ्य केन्द्र, वडा नं १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नं ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं ९ को आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, वडा नं ११ मा शिवपुर नगर स्वास्थ्य केन्द्र र वडा नं १८ को घोरदौरामा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने निर्णय भएको हो ।
साथै बैठकले सौडियार, धर्ना, नारायणपुर, रामपुर र हापुर स्वास्थ्य चौकीको मर्मतका लागि ८० लाख बजेट छुट्याएको छ । त्यस्तै खोप केन्द्र स्थापनाका लागि ९ लाख छुट्याएको छ । सो रकमबाट हर्नोक, पाँचपोखरी र दक्षिण तेघरा बाह्य खोप केन्द्र निर्माण गरिने भएको हो ।
नगर कार्यपालिकाको बैठकले घोराहीमा योग हल निर्माणका लागि चार लाख सहयोग गर्ने र नारायणपुरमा नागरायणपुर उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागेको महोत्सवलाई अनुमति दिने निर्णय गरेको छ ।
रासस


प्रतिक्रिया