२० पुस, फलेवास– पर्वत ।
फलेवास नगरपालिकाका ११ पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । यही पुस १० गतेदेखि पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो ।
आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले जानकारी दिए । बस सञ्चालन भएसंगै फलेवास नगरपालिकाका कुर्घा र पाङराङ तथा बिहादी गाउँपालिकाका सबै वडाका यात्रुले नियमित रुपमा यात्रा गर्ने गरेका छन् ।
हरेक दिन बिहान ६ः४० देखि पाङराङको कर्नासबाट छुट्ने बस अपराह्न ३ बजे बुटवल पुग्छ । पाङराङदेखि बुटवलसम्मको भाडा ५५० कायम गरिएको छ । पाङराङबाट बुटवलसम्मका लागि सीधै बस सञ्चालन नहुँदा दुई दिन लगाएर कुस्मा–नारायणगढ हुँदै बुटवल पुग्नुपर्ने बाध्यता थियो ।
यसैगरी हरेक दिन बर्दघाटदेखि बुटवल, स्याङ्जा वालिङ हुँदै हुवास, रानीपानी, बाच्छा र पाङराङसम्मका लागि पनि बस सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।
रासस


प्रतिक्रिया