१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाका ग्रामीण जनता अझै पनि लामाधामीको भरमा



सुशीला रेग्मी
१२ पुस, रामपुर– पाल्पा ।
जिल्लाको रिब्दिकोट गाउँपालिका ८, फेक, पेलाचौरका ७० वर्षीय जितबहादुर बगाले अहिलेसम्म बिरामी परेपछि लामाधामीकै भर पर्दै आएका छन् । बिरामी पर्न थालेपछि पहिला लामाधामीकहाँ पुगेर उपचार गराउछन् । “पटकपटक लामाधामीसंग उपचार गराउँदा निको नभएपछि मात्र अस्पताल जाने गरेको छु” उनले भने ।

“अस्पताल नजिक छैन, दिन बिताएर हिँडेर अस्पतालमा उपचार गर्न जानभन्दा घर नजिकै लामाधामीसंगै उपचार गर्न सजिलो भयो” बगालेको भनाइ छ । महिला स्वयंसेविका मनकुमारी बगालेले पनि आत्मादेखि माता आएकाले माताको आदेशअनुसार उपचार गर्दै आएको बताइन् । उनी लामाधामी नभए पनि माताले भनेअनुसारको उपचार गरेपछि बिरामीसमेत ठीक भएको बताउछिन् ।

गाउँमा जोकोही बिरामी परेपछि लामाधामीकहाँ लाने र लामाधामीको सल्लाहअनुसार गाउँमा मरेका व्यक्ति वायु कुलायन बनेर आएकाले उनीहरुको पूजा गरेर भाले, बोका चढाउनुपर्छ भनेपछि बिरामीका आफन्तले सबै जुटाउने गर्छन् ।

लगातारसम्म दुईचार पटक भाले, बोका चढाउने गर्छन् । केहीलाई आफैँ रोग निको हुँदै गयो भने लामाधामीले सन्चो भयो भन्ने विश्वासले अस्पतालको उपचारमा ध्यान नदिएको सामाजिक परिचालक मीना कुँवरले बताइन् । फेक, पेलाचौरका ६५ वर्षीय तिलबहादुर हिस्की, ६० वर्षीय थानबहादुर विक र प्रेमबहादुर खड्काले लामाधामीको काम गर्दै आएका छन् । एउटै गाउँमा सातभन्दा बढी लामाधामी छन् ।

बच्चाबच्चीले आमाको दूध नखाएमा, घरमा कसैलाई पेट दुख्ने, पखाला लाग्ने, टाउको, हातखुट्टा दुख्ने, घाउखटिरा, ज्वरो आउने, रुघाखोकी लाग्ने ,शरीर दुख्ने, हातगोडा बाउँडिने लगायतका बिरामी भएमा उपचारका लागि कुलायन, वायु जागेको, नाग, देवीदेवता लागेको भन्दै बिरामी बोकेर लामाधामी कहाँ पुग्ने गर्छन् । यहाँका जनता लामाधामीलाई नै अस्पतालको डाक्टर मानेर पुकार्ने गर्छन् ।

देवीदेवताले विशेष मन्त्र सिकाएको र त्यो मन्त्र जप्दै झारफुक गरे निको हुने पुरानो अन्धविश्वास रुढीवादीबाट गाउँका जनता अझै पनि मुक्त हुन सकिरहेका छैनन् । देवी उत्रिएको लामाधामी, माताले दर्शन दिएको लामाधामी, परमेश्वरको लामाधामीजस्ता विभिन्न प्रकृतिका धामीले गाउँमा अन्धविश्वासलाई बढाउँदै लगेका छन् ।

अशिक्षा, अन्धविश्वास र गरिबीले नराम्रोसंग गाँजेको हाम्रो समाजमा बिरामी परे अस्पताल होइन लामाधामीकहाँ लगे निको हुन्छ भन्ने पुरानो मान्यता हट्न सकिरहेको छैन । रिब्दिकोट गाउँपालिका ८ फेकको पेलाचौर र ताल्तुङका अशिक्षित व्यक्तिदेखि शिक्षित व्यक्ति पनि आजको यो समयमा लामाधामीको भरमा छन् । यहाँ २६५ मगर र दलित परिवारको बस्ती छ ।

रोजगारीका निम्ति गाउँका सबै युवा विदेश पलायन, वृद्धवृद्धा र बालबालिकाको मात्र बसोबास रहनु, अर्कोतर्फ दुर्गम र विकट गाउँमा नजिकै स्वास्थ्य चौकी नहुँदा पनि आजको यो युगसम्म ग्रामीण भेगका जनता लामाधामीको भरमा पर्न बाध्य भएका हुन् ।
रासस

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार ००:००