८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचारप्रसारको अभावमा ‘बगनास क्षेत्र’ ओझेलमा



७ पुस, पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिका ९ चापपानीको ऐतिहासिक स्थल ‘बगनास क्षेत्र’ ओझेलमा परेको छ । प्रचारप्रसारको अभाव, स्थानीयको पहलकदमी हुन नसक्नु र आवश्यक पूर्वाधार नबन्दा पाल्पा सदरमुकाम तानसेनबाट नजिकै रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय बगनास क्षेत्र ओझेलमा परेको हो ।

समुद्री सतहदेखि एक हजार ४७० मिटर उचाइमा रहेको बगनास डाँडाबाट सूर्योदय अवलोकन गर्न सकिन्छ । सूर्योदयदेखि प्राकृतिक मनोरम दृश्यको सहज अवलोकन गर्न सकिने भएकाले पर्यटकीय गन्तव्य हुने सम्भावना बोकेको यस क्षेत्रमा पूर्वाधारको विकास हुन सकेको छैन ।

मानिसहरु सूर्योदय अवलोकन गर्न विशेष चाहना राख्नेहरु सूर्योदय हुनु अघि नै त्यहाँ पुग्ने गर्दछन् । गर्मीको समयमा शितल हुने भएकाले मानिसहरु गर्मी छल्न त्यहाँ पुग्ने र प्रकृतिसंग सामिप्यको लाभ लिन केन्द्रित हुन्छन् ।

सुन्दर हिमशृंखला, माडीफाँट, तानसेन बजार र तराईका फाँट अवलोकन गर्न सकिने भएकाले बगनासलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गर्नुपर्ने स्थानीयबासिन्दा टेकबहादुर राना बताउछन् ।

चेचिकोटी ९बगनास देवी० मन्दिरको आफ्नै महत्व रहेकाले पनि बहुसाँस्कृतिक र बहुजातीय महत्वको गन्तव्य रहेको मानिन्छ । घुमफिर, पिकनिक र मन्दिर दर्शनका लागि पर्यटक तथा दर्शनार्थी यहाँ आउने गर्दछन् ।

मन्दिरको महिमाबारे प्रचारप्रसार गर्न सकेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय बासिन्दा विष्णुप्रसाद विकले बताए ।

बडादशैँको नवदुर्गामा विशेष मेला लाग्ने यस स्थलमा ऐतिहासिक कोटघर पनि रहेकाले यसक्षेत्रको महत्व धेरै पहिलेदेखि नै रहेको अनुमान स्थानीयबासिन्दाको रहेको छ ।
रासस

प्रकाशित मिति : ७ पुस २०७४, शुक्रबार ००:००