१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री र अध्यक्षभन्दा देश विकासमा ध्यान छः ओली



१८ मंसिर ललितपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्नेभन्दा पनि आफ्नो ध्यान देश विकास कसरी गर्ने भन्ने रहेको बताएका छन् ।

वाम गठबन्धन क्षेत्र नं १ ले चापागाउँमा आयोजना गरेको चुनावीसभामा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू दुवैको पार्टी एकीकरणको उद्देश्य अध्यक्ष बन्नु नभएको प्रष्ट पारे ।

उनले भने, “अहिले नै हामी पार्टीका अध्यक्ष छौं, त्यसका लागि एकीकरणमा जानु पर्दैन ।” नेताको व्यवस्थापनभन्दा पनि जनताको व्यवस्थापनका लागि पार्टी एकीकरण भएको उनले बताए । घाइते, पीडित, बेरोजगार र गरिब जनताको व्यवस्थापनको आवश्यकता भएको उनले औँल्याए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को पटक प्रधानमन्त्री हुनेबाहेक अरु चुनावी कार्यसूची नभएको आरोप लगाउँदै उनले भने, “पत्रकारले कार्यक्रम के छ भनेर प्रश्न गर्दा उहाँले म प्रधानमन्त्री बन्नु छ भन्ने गर्नुभएको छ ।” अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकासका कामको थालनी र छिमेकीसंगको सम्बन्ध सुधार गरेको जिकिर गर्दै वामपन्थीसंग सरकारमा गएपछिका थुप्रै कार्यक्रम रहेको जिकिर गरे ।

सभामा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले विकासका सबै कामको थालनी वामपन्थी सरकारले नै गरेको जिकिर गरे । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि दाहालले वामपन्थीको जीतको औपचारिक घोषणा हुन मात्रै बाँकी भएको विचार राखे । एमालेका केन्द्रीय सदस्य सुशीला नेपालले यस क्षेत्रमा वामपन्थीको जीत फर्कने जिकिर गरे ।

क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले नेपाली कांग्रेसले प्रहरी महानिरीक्षक बन्न रोक्नाले गर्दा आफू जनतासम्म जान पाएको बताए । प्रदेशसभा खका उम्मेदवार चेतनाथ सञ्जेलले आफू पार्टीमा बसेर काम गरे पनि जननिर्वाचित नभएकाले काम गर्नका लागि जनतासंग एक पटक अवसर मागेको बताए ।
रासस

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ००:००