२९ चैत्र २०८०, बिहिबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ क्षेत्र नं १ मा चुनावी सरगर्मी बढयो



नारायणी रजौरे
१३ मंसिर, तुलसीपुर– दाङ ।
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी दाङमा अहिले ह्वात्तै बढेको छ । विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

दाङ क्षेत्र नं १ मा द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ । त्यसैले सो क्षेत्रमा चुनावी सरगर्मी पनि निकै बढेको छ । थारू समुदायको बाहुल्यता भएको सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा थारू उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ । दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले नेत्री सुशिला चौधरीलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी चुनावी मैदानमा उतारेको छ ।

त्यसैगरी सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, राजमोबाट कपिलदेव खनाल, मालेका रेखा केसी, संघीय खुम्बुवान् लोकतान्त्रिक नेपालका लीलाराम चौधरी, नयाँ शक्तिबाट होमप्रसाद शर्मा र स्वतन्त्रबाट सुरेन्द्र चौधरी, गौर सिं महत र प्रभुनारायण चौधरी चुनावी मैदानमा छन् ।

त्यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेकी चौधरी पूर्वसांसदसमेत हुन् भने वाम गठबन्धनका उम्मेदवार चौधरी एमालेका केन्द्रीय सदस्य हुन् । त्यहाँ मुख्य प्रतिस्पर्धा उनीहरुबीच हुने देखिएको छ । चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने बताएका छन् ।

उनीहरुले दाङको देउखुरीलाई कृषि हवका रुपमा विकास गर्दै किसानलाई प्रविधिसंग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत जनाउँदै आएका छन् । देउखुरी क्षेत्रमा रहेको उर्वर भूमिमा व्यावसायिक खेतीको सम्भावना उच्च रहेकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाउने र परम्परागत खेतीलाई विस्थापित गरेर वैज्ञानिक रुपमा कृषि क्षेत्रको विकास गर्नेमा उनीहरुले जोड दिदैं आएका छन् ।

त्यसैगरी दाङ क्षेत्र नं १ को प्रदेश क बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट प्रदीप थापा र वाम गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रजित थारू, नयाँ शक्तिका एकराज चौधरी, राजमोका जगतप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट रणबहादुर यादव, नेकपा मालेबाट सबिता जिसी पाण्डे, संघीय समाजवादी फोरमबाट सीताराम यादव र स्वतन्त्रबाट चुडामणि चौधरी चुनावी प्रतिस्पर्धामा छन् । त्यहाँ पनि कांग्रेस र वाम गठबन्धका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ ।

त्यसैगरी सोहि क्षेत्रको प्रदेशसभा ख बाट कांग्रसका जानकीलाल बस्नेत, वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्मा, नेकपा मालेबाट कृष्णबहादुर क्षेत्री, राजमोबाट ठाकुरप्रसाद भण्डारी, नयाँ शक्तिबाट दिलबहादुर महतरा, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नरेन्द्रबहादुर बंजाडे, संघीय खुम्बुवान् लोकतान्त्रिक पार्टीबाट भक्तबहादुर घर्ती मगर, संघीय समाजवादी फोरम नेपालबाट भरतलाल चौधरी, राप्रपा प्रजातान्त्रिकबाट किरणकुमार बुढाथोकी र स्वतन्त्रबाट दिक्पाल योगी चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । मुख्य प्रतिस्पर्धी दलका नेता र त्यसका उम्मेदवारले यस क्षेत्रका नागरिकको समस्यालाई समाधान गर्न र देउखुरी क्षेत्रलाई डुबानमुक्त गराउनेजस्ता विकासका एजेण्डा बोकेर मतदातलाई आकर्षित पार्न तल्लिन देखिन्छ ।

यस क्षेत्रमा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका १, २, ३ र ५ वडा पर्दछन् । कुल एक लाख ११ हजार ९६ मतदाता रहेको सो क्षेत्रमा २४ वटा मतदानस्थल र ६८ मतदान केन्द्र रहेका छन् ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ००:००